क्रान्तिकारी मुक्तिनाथलाई देशले चिनेन

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले ऐतिहासिक व्यक्तित्व मुक्तिनाथ शर्मालाई देशले चिन्न नसकेको गुनासो गरेका छन् । मुक्तिनाथ स्मृति प्रतिष्ठानले पोखरामा आयोजना गरेको मुक्तिनाथ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।
गुरुङले समाजलाई चेतनशील बनाउन सामाजिक सांस्कृतिक सुधार गर्न मुक्तिनाथको योगदान उल्लेख्य भएको उनको भनाइ छ । उनले शर्माको घरलाई संग्रहालयको रुपमा विकास गर्नुपर्ने विचार राखे ।

शर्माको २९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले शर्मालाई समाज विकास र चेतनाको बिम्बको रुपमा चित्रण गरिन् । कार्यक्रममा शिक्षाविद् जर्ज जोन, साहित्यकार भूपीनिधि पन्त,अधिकारकर्मी भीबहादुर विक, विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रा थापा लगायतले शर्माको व्यतिmत्वका विविध आयामबारे चर्चा गरेका थिए ।

पोखरा १६ बाटुलेचौरमा १९७१ सालमा जन्मेका मुक्तिनाथको २०४६ सालमा निधन भएको थियो । २००१ सालमा ब्राह्मणले हलो जोत्न हुँदैन मान्यता तोडेका उनले त्यो बेला ठूलो विरोध सामना गरेका थिए । ब्राह्मण कुलमा जन्मेका उनले क्रान्तिकारी ‘को अछुत ? उपन्यासमार्फत छुवाछुतको विरोध गर्दै समतामूलक समाजको सपना देखाएका छन् ।

मुक्तिनाथले २००९ सालमा लेखेको यो किताब २०११ सालमा इन्द्रमान र चन्द्रमान शेरचनले प्रकाशन गरेका थिए । यो पुस्तक प्रेसबाटै जफत भएको थियो ।