सौन्दर्यकला कला व्यवसायी संघ कास्कीकी अध्यक्ष सोनम गुरुङसहित विभिन्न क्षेत्रका व्यक्तिहरू थाइल्याण्डको बंैककमा आयोजित कार्यक्रममा सम्मानित भएका छन् ।
बैंककमा आयोजित एक कार्यक्रममा आइरिस हेयर एण्ड व्यूटीकेयर एकेडेमी प्रालि पोखराकी प्रवन्ध निर्देशक समेत रहेकी गुरुङ थाइ इन्टरनेशनल अवार्डबाट सम्मानित भएकी हुन् ।
सो कार्यक्रम नेपालबाट गएको टोली, थाईल्याण्डमा रहेका नेपाली तथा थाइल्याण्डका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजना गरिएको थियो । कार्यक्रममा समाजमा विशेष योगदान गर्नेलाई अवार्डसहित सम्मानित गरिएको थियो ।
सम्मानित हुने अन्य व्यक्तित्वमा वरिष्ठ शिक्षाविद् अवार्डबाट जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल, पत्रकारिता अवार्डबाट पत्रकार मुकुन्द कुमार ढुंगाना, वरिष्ठ सौन्दर्यविद् अवार्डबाट सुमित्रा रञ्जित थिए ।
यसैगरी मानव अधिकार अवार्डबाट चित्रबहादुर रसाइली, मन्टेसरी अवार्डबाट रिन्कु ढकाल, कृषि तथा सहकारी क्षेत्रबाट जयकला बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत डा. खगनाथ अधिकारी थिए । सम्मानित तथा पुरस्कृत सबैलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा चर्चित युवा गायक तथा सामाजिक अभियन्ता नवीन खड्का र अन्जन दाहालले विभिन्न गीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतिक बनाइएका थिए ।
कार्यक्रम समापन पछि नेपालीहरूको रंगहरूको पर्व होली पनि मनाइएको थियो । कार्यक्रममा सहभागी हुन नेपालबाट ७५ जनाको टोली सहभागी भएका थिए । सामुदायिक सञ्चार समूहद्वारा कार्यक्रमको आयोजना गरिएको हो ।




