वरिष्ठ पत्रका एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाललाई यस बर्षको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ बाट पुरस्कृत गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित एवं सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्ट (समाजसेवी तथा उद्योगपति सूर्यबहादुर केसी र प्रेमकुमारी केसी) पोखराद्वारा स्थापित सो पुरस्कारको राशी नगद रु १ लाख ११ हजार १ सय ११ तथा सम्मानपत्र छ ।
महासंघको बैठकले प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई अनुमोदन गरी सो पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार यही चैत १९ गते एक कार्यक्रमका बीच सो पुरस्कार नेपाललाई अर्पण गरिने छ ।
महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष बद्रीबिनोद प्रतीक संयोजक तथा निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सल्लाहकार रमेश पौडेल तथा शाखा अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना छनौट समितिमा थिए ।
वि.सं २०७३ मा स्थापित राजधानी बाहिरको सबैभन्दा धेरै पुरस्कार राशी भएको सो पुरस्कारबाट अग्रज पत्रकार युवराज घिमिरे र बद्रीविनोद प्रतीक पुरस्कृत भईसकेका छन् । पत्रकार नेपाल हाल व्यावसायिक पत्रकारिता केन्द्रको अध्यक्ष तथा विभिन्न छापा माध्यममा स्तम्भकार छन् ।
उनले नागरिक दैनिकमा प्रधानसम्पादक, कान्तिपुर पव्लिकेशनको नेपाल साप्ताहिकको सम्पादक, गोरखापत्र दैनिकको प्रधान सम्पादक तथा महाप्रवन्धक हिमालयन टाईम्सको सम्पादक लगायत विभिन्न छापा सञ्चारमाध्यममा आफ्नो जिम्मेवारी निर्वाह गरे ।
नेपालले विभिन्न पुस्तकसमेत प्रकाशन गरेका छन् भने कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता अवार्ड लगायत विभिन्न अवार्ड तथा फेलोसिप प्राप्त गरेका छन् ।






