नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा संरक्षण समितिका अभियान्ताले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था सुधार गर्न माग गरेका छन् । यसै विषयमा उनीहरूले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
उनीहरूले मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘गण्डकी प्रदेशकै पुरानो र ठूलो एकमात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वेथितिबाट गुज्रिरहेको र आम सर्वसाधारण नागरिकले ठूलो हैरानी बेहोर्नुका साथै सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुन परिरहेकले ध्यानाकर्षण गराउन चाहन्छौं ।’
ज्ञापनपत्रमा उल्लेख भएअनुसार मेमोग्राफी (स्तन परीक्षण मेशिन) लामो समयदेखि बिग्रेको, सिटी स्क्यान लामो समयदेखि विग्रेको, स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको लामो समय भइसक्दा पनि अध्ययन अध्यापन शुरु नभएको तर तलब सुविधा लिइइरहेको जस्ता विषय उल्लेख गरिएको छ ।

यस्तै भीसी, डीनले प्राइभेट प्राक्टिस गरिरहेको, जापान–नेपाल फाउण्डेशनबाट प्राप्त क्लिनिकल कम्पैजन गर्ने, बस संचालनमा नआएको, फोहोर मैला सफाइका लागि बनाएको गेट प्रयोग विहीन रहेको, टोकन सिष्टम व्यवस्थित नभएको, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा लागू हुन नसकेको, पार्किङ व्यवस्थित नभएको, शौचालयमा सरसफाई कमी भएको जस्ता सस्या पनि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले अस्पतालको समस्या धेरै भएको आफूले पनि महसुस गरेको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंमा जानकारी गराउने प्रतिवद्धना जनाइन् । नागरिकका समस्याका बारेमा ज्ञापनपत्र मार्फत खबरदारी गरेकोमा उनले आभार प्रकट गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग हुने स्पष्ट पारिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ दिइएको ज्ञापनत्रमा नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, राष्ट्रिय सम्पदाका अध्यक्ष एवं नागरिक समाजका पोखराका संस्थापक रामबहादुर पौडेल, नागरिक अभियन्ता इन्द्रकमल मानन्धर, ठाकुर प्रसाद बराल, शशी तुलाचन, कल्याण पन्त, सुनिल पाण्डे र सूर्यनाथ पहारीले हस्ताक्षर गरेका छन् ।




