संसदको हिउँदे अधिवेशन आज सकिदैँ

संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र अधिवेशन अन्त्य गर्ने तय भएको सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले जनाएको छ

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज दुईवटा बैठक बस्नेछ र संसदको हिउँदे अधिवेशनको समापन हुनेछ ।

हिउँदे अधिवेसन पुस ११ गते सुरु भएको हो । संसदको तेस्रो तथा हिउँदे अधिवेसनमा प्रतिनिधि सभामा २३ वटा र राष्ट्रिय सभामा ७ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये प्रतिनिधिसभामा उत्पत्ति भएका १३ वटा र राष्ट्रिय सभामा उत्पत्ति भएका ३ वटा विधेयक दुबै सदनबाट पारित भएका छन् ।

प्रतिनिधिसभातर्फ पहिलो अधिवेसनमा २६ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये १८ वटा विधेयक दुबै सदनबाट पारित भएको थियो भने, ७ वटा विधेयक पहिलो अधिवेशनका बाँकी थिए । राष्ट्रिय सभातर्फ भने पहिलो अधिवेसनमा एउटा पनि विधेयक दर्ता भएको थिएन ।

यसअघि संसदको दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा २३ वटा विधेयक दर्ता भएका थिए । अघिल्लो अधिवेशनका समेत गरी प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयक दोस्रो अधिवेशनमा १३ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने, राष्ट्रियसभातर्फ दोस्रो अधिवेशनमा ८ वटा विधेयक उत्पत्ति भएका थिए । त्यसमध्ये ५ वटा विधेयक दुबै सदनबाट पारित भएको थियो । ३ वटा विधेयक पारित हुन बाँकी थिए ।