प्लाष्टिकका झोला न्युन गर्न व्यस्थापनमा कडाई गर्ने सरकारको तयारी

सरकारले प्लाष्टिकका झोलाको प्रयोगलाई न्युन गर्न त्यसको स्रोतमाथिको व्यवस्थापनमा कडाई गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभाको आईतबार बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरुले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको स्पष्ट पारेका हुन् । उनले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभाकारिता न्यून देखिएको स्वीकार गरे । उनले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गरि कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पारे ।

उनले सके सम्म न्युन प्रयोगको वातावरण श्रृजना गर्ने तथा प्रशोधनका लागि आवश्यक वातावरण श्रृजना गर्ने र पुनप्रयोग नहुने प्लाष्टिकको प्रयोग नै नगर्ने वातावरण श्रृजना गर्ने विषयलाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको बताए ।उनले कम तौलका प्लाष्टिकका झोला प्रयोगमा लगाईएको प्रतिबन्धको कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भईरहेको र अहिलेसम्म १९ स्थानमा कारवाही भएको पनि उनले स्पष्ट पारे ।

ध्यानाकर्षण प्रस्तावक डाक्टर बिमला राई पौडेलले काठमाण्डौ उपत्यकामा मात्रै १० लाख भन्दा बढी प्लाष्टिकका झोला एक पटक मात्रै प्रयोग गरेर फालिने गरेको र यसले जम्मा फोहरको ११ प्रतिशत ओट्ने गरेको तथ्यांकले देखाएको भन्दै उपयुक्त व्यवस्थापन तर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।