एसइई परीक्षा भोलिदेखि, कुन प्रदेशमा कति परीक्षार्थी ?

- नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालद्धारा शुभकामना

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् ।

यस्तै प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

मुलुक संघीयतामा गएपछि पहिलो पटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

उनले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताए । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए ।

परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष ४ प्रकारका प्रश्न सोधिएको थियो ।

यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

नेविसंघका भानु ढकालको शुभकामना

यसैबीच नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले आइतबारदेखि हुने एसइई परीक्षा सभ्य र मर्यादित बनाउन सबै पक्षसंग आग्रह गरेका छन् ।

‘एसइई परीक्षाको नाउँमा अघिल्ला वर्षमा विकृति, विसंगतिका साथै विभिन्न घटना घट्ने गरेका थिए । यसपटक ती घटनाबाट पाठ सिकेर परीक्षा सभ्य र मर्यादित बनाउन आवश्यक छ’, नेता ढकालको सन्देशमा भनिएको छ ।
उनले शनिबार एक शुभकामना वक्तव्य जारी गर्दै एसइई परीक्षामा सहभागी हुने देशभरका करिब ५ लाख परीक्षालाई सफलताको शुभकामना समेत दिएका छन् ।

उनले विद्यार्थीहरूलाई नआत्तिइ, हतोत्साही नबनि परीक्षामा लेख्न र मर्यादित ढंगले परीक्षामा सहभागी हुन आग्रह गरे ।

एसइई परीक्षा विद्यार्थीको भविष्यसंग जोडिएकाले यसतर्फ विद्यार्थी, अभिभावक, शिक्षक लगायत सबै पक्ष चनाखो हुनुपर्नेमा विद्यार्थी नेता ढकालले जोड दिए । परीक्षा सभ्य र मर्यादित बनाउन नेपाल विद्यार्थी संघ सबै किसिमको सहयोग गर्न तयार रहेको समेत उनले स्पष्ट पारे ।