अवैधरुपमा बिक्रीका लागि मुस्ताङको जोमसोम लैजान लागिएको २०० किलोभन्दा बढी कुखुराको मासु नष्ट गरिएको छ ।
कास्कीको पोखरास्थित जिरो किलोमिटरबाट जोमसोम लैजान लागिएको ६ बोरा ब्रोइलर कुखुराको तयारी मासु पर्वतको मोदी गाउँपालिका–६ स्थित पोखरा–बागलुङ सडकको डिमुवा बजारबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्कीमा बर्डफ्लुको सङ्क्रमण फैलिएका बेला बिना परीक्षण र बिना बिल भर्पाइ ना६ख ७१८० नं को बसमा राखेर लगिँदै थियो । सो मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र स्थानीय प्रहरीचौकीका इञ्चार्ज कृष्णबहादुर नेपालीको रोहवरमा नष्ट गरिएको छ ।
मकवानपुर, चितवन, काठमाण्डौ, कास्कीलगायत जिल्लामा बर्डफ्लु भेटिएपछि पर्वतलगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको छ । सङ्क्रमणबाट जोगाउन कुखुरा आयातमा प्रतिबन्ध लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।




