पुष्करलाल मेडिसिटीको भेन्टिलेटरमा

अग्रज पत्रकार पत्रकार पुष्करलाल श्रेष्ठ गम्भीर बिरामी भएका छन् । उनको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्ष(भेन्टिलेटर)मा केही दिनदेखि उपचार भइरहेको छ ।

श्रेष्ठ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुन् ।
करिब चार महिनादेखि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा उनको नाक र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया भएको थियो ।

त्यसपछि उनमा विभिन्न स्वास्थ्य समस्या देखा परे पनि पूर्ण रुपमा निको हुन सकेको छैन । उनलाइ थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो र केही दिनको उपचारका क्रममा चिकित्सकहले उनलाई Guillain-Barré syndrome (GBS) virus संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पताल लगी सघन उपचार कक्षमा उपचार हुँदै आएको छ । उनको स्वास्थ्य स्थिति जटिल र स्थिर रहेको बताइएको छ ।