आदीवासी जनजाती मध्येको एक थकाली समूदायको महानपर्व तोरन्ल सोमबार देखि मुस्ताङका बिभिन्न स्थानमा एकैसाथ सुरु भएको छ।
हिउँदयामपछि बशन्तऋतुको आगमन संगै सुरु हुने तोरन्ल पर्व थकाली समूदायको मुख्य पर्व हो ।देश बिदेशमा छरिएर रहेका थकाली समूदायका युवायुवतीहरु पर्व धान्न जन्मथलो फर्कन्छन् ।पर्वले थकाली समुदायलाई जोड्न महत्वपुर्ण योगदान पु¥याएको छ ।तारो हान्ने,कौडा खेल्ने,पितृ चढाउने,नाचगान गनर्,े मिठो खाने र राम्रो लगाउने थकालीहरुको तोरन्ल पर्वको मुख्य बिशेषता हो ।
मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि घाँसा सम्म र पोखरा ,काठमान्डौ,बुटवल ,भैरहवा लगायतका स्थानमा बसोबास गरेका थकाली समूदायले तोरन्ल पर्व धार्मिक तथा सास्कृतिक परम्परा अनुसार हर्षउल्लासका साथ मनाउने चलनचल्ती छ ।
तोरन्ल पर्वको मुख्य बिशेषता पितृ पुजा एक हो ।थकाली समूदायका मानिसहरुले आफ्ना दिवंगत पितृहरुलाई खुसी राख्न चोखो पानी चढाउने र मिठा मिठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन ।पूर्णिमाको अघिल्लो दिन देखि पूर्णिमाको भोलीपल्ट तिन दिन सम्म मध्यरातमा उठेर पितृको नाममा प्रसाद चढाउने प्रचलन रहेको छ ।यसरी पितृको नाममा खानेकुरा चढाउदा पितृ खुसी हुने पितृको उद्दार हुने धार्मिक बिश्वास रहेको छ ।
तोरन्ल पर्वलाई थकाली समूदायले मौलिक सांस्कृतिक पर्वको रुपमा लिईएको पाईन्छ ।पूर्णिमा अघिल्लो दिनमा तारा थाप्ने थकाली भाषामा (धसा चुह) गरिन्छ ।तारा थाप्दा थकाली परम्परा अनुसार पुजाआजा गरिन्छ ।यसरी पुजाआजा गर्दा तारो खेल्दा कुनै अनिष्ठ नहोस् भन्ने कामना गरिएको हो ।धसाको प्रारम्भिक पुजा गरेपछि मात्र तारो हान्ने खेलको सुरुआत गरिन्छ ।महिलाहरुले भने कौडा खेलेर रमाईलो गर्ने चलन छ ।
मुस्ताङको जोमसोममा तोरन्लकै अवसरमा सोमबार देखि आर्चरी अर्थात तारा हान्ने खेल सुरु भएको हो ।तारा खेल संञ्चालन हुनुपुर्व गाउँमुखिया निवासमा जोमसोमका स्थानीय थकाली समूदायका मानिसहरु भेला भएका थिए ।तर,जोमसोममा थकालीकै पर्व भएतापनि अन्य समूदायले समेत सास्कृतिक पर्वका रुपमा सहकार्य गर्दै आईरहेका छन् ।
गाउँका अगुवा मुखियाको साथमा तारा धसोलाई बाजागाजा राखिएको तारा धसोसहित तारा स्थलमा पु¥याईएको थियो ।थकाली पोषाक दौरा सुरुवाल र न्होकोन चोलोमा चिटिक्क सजिएका यूवायूवती तथा समाजका अगुवाको उल्लेख्य उपस्थितले तारो खेल तथा तोरन्ल पर्वको रौनकले उत्साह बृद्धि गरायो ।तारो खेलको गाउँमुखिया रामप्रसाद थकालीले धसो पुजाआजा तथा तारोको तिर हान्दै खेलको औपचारिक उद्घाटन गरे ।
जोमसोममा पन्ध्र दिन सम्म तारो हान्ने खेल जारी रहन्छ ।मुस्ताङमा मिश्रित थकाली वस्ती भएकाले यसको रोनक थपिएको हो ।पूर्व गाउँमुखिया एवंमु नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले तोरन्ल पर्व थकालीहरुको महान पर्व भएको बताए ।उनका अनुसार वर्षभरी कामगरी बशन्तऋतुको सन्तुलित मौसममा सबै थकान बिर्सिएर आपसमा सामिप्यता अभिबृद्धि गर्न तोरन्ल पर्व महत्वपूर्ण पर्वको रुपमा लिने गरिएको खुलाए ।
धार्मिक ,सास्कृतिक,सामाजिक पहिचानको रुपमा मनाईदै आईरहेको तोरन्लमा पितृ पुजा गर्ने आपसमा भेला हुने र तारो खेल्ने प्रचलन रहेको उनले जानकारी दिए ।गाउँमुखिया रामप्रसाद थकालीले तोरन्ल पर्व थकालीहरुको मौलिक पहिचान भएको बताए ।जनहित माविका अध्यक्ष जयन्द्रलाल थकालीले तोरन्ल पर्व थकाली समुदायकै महानपर्व भएको जनाए ।तोरन्ल पर्वको आगमनअघि थकाली समुदायका प्रत्येक घरहरु चिटिक्क सिङ्गार्ने र घरभित्रका भाडा वर्तनको सरसफाई गर्ने चलन छ ।
जोमसोम भएको तारो हान्ने खेलको उद्घाटन कार्यक्रममा मुस्ताङ प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री,उपाध्यक्ष शर्मिला गुरुङ लगायतले तोरन्ल पर्वको सुभकामना दिएका थिए ।यस्तै, मार्फा,टुकुचे,लेते,कुञ्जो र घाँसा लगायतका स्थानमा समेत सोमबार देखि तोरन्ल पर्व सुरु भएको जनाईएको छ ।
मुस्ताङमा ठिनी,स्याङ,चिमाङका तिन गाउँले थकालीहरुले तोरन्ल पर्व जस्तै त्युङ्ला पर्व मनाई सकेका छन् ।यता मार्फाली समूदायका थकालीले यसपर्वलाई तेरमी पर्वका रुपमा मनाउने गरेको पाईएको छ ।
तोरन्ल ,तेरमी र त्युङ्ला पर्वको समान बिशेषता भएपनि बिधिहरु केही भएको मार्फाका अगुवा दिपक लालचनले जानकारी दिए ।




