नगर विकास समिति अध्यक्षको शैक्षिक प्रमाणपत्र नक्कली

सुलीचौर नगर विकास समिति रोल्पा अध्यक्ष प्रकाश घर्तीमगरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ । अख्तियारले घर्तीमगरले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त गरेको हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सार्वजनिक पदमा बहाल रही लाभसमेत लिएको जनाएको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।