उर्जा बचाएर प्रतिस्पर्धी क्षमता बढाउन आग्रह

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न आग्रह गरेका छन् । उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने भएकोले उर्जाको सही सदुपयोग गर्न समेत उनले आग्रह गरे ।

राष्ट्रिय वाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको उर्जा बचत तथा अनुदानबारे जानकारी दिन आयोजित अन्तरक्रियामा कोइरालाले दुई वर्षअघि देशले उर्जा संकट भोग्दै गर्दा उद्योग/व्यवसायको लागत बढेको स्मरण गराउँदै उर्जाको चुहाबट नियन्त्रणतर्फ पनि ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

जर्मन सहयोग संस्था (जिआइजेड) उर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो । जर्मन विकास बैंकमार्फत आउने सो अनुदान रकम राष्ट्रिय बाणिज्य बैंकले प्रबाह गर्नेगर्छ । ठूला, साना र मझौला सबै खाले उद्योग/व्यवसायमा उर्जा बचतको लागि यो परियोजना मार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था छ ।

उर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी/व्यवसायीले आफ्नो प्रतिष्ठानले खपत गर्ने उर्जाअडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगले बैंकबाट ऋण समेत लिएको हुनुपर्नेछ ।

१० लाख लगानी भएका उद्योगलाई उर्जा बचतका लागि ३० प्रतिशत, मझौला उद्योगलाई २० र ठूला उद्योगको हकमा १५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने आइएसओ १४००१ तथा आइएसओ २६००० प्राप्त उद्योग व्यवसायलाई ४ प्रतिशत थप अनुदान प्रदान गरिने राष्ट्रिय वाणिज्य बैंकका कर्पोरेट तथा सेल्स बिभाग प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिए । बैंकमार्फत अनुदान माग गरेमा थप ५ प्रतिशत अनुदान थपिने पनि उनले बताए ।

कार्यक्रममा संघका महासचिव अर्जुन पोखरेलले उर्जा अडिटले चुहाबट नियन्त्रण गरी लागत घटाउन मद्धत पुर्याउन भएकोले यो परियोजनाबाट लाभ लिन आग्रह गरे ।

उनले परियोजनाबारे थप जानकारी र सहयोग चाहिएमा पोखरा उद्योग वाणिज्य संघले सघाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदास, राष्ट्रिय बाणिज्य बैंकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख ऋषिराम ढकाल, जर्मन विकास बैंकका प्राविधिक विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय, राष्ट्रिय बाणिज्य बैंकका कर्जा बिभाग उपप्रबन्धक होमराज भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण विभाग प्रमुख उत्तम कुँवर, पोखरा फुड्सका बलराम बराल, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिराज पन्त, शोभित पौडेल, फर्निचर व्यवसायी संघको तर्फबाट हीरामणि पण्डित, शान्ति इञ्जिनियरिङका यज्ञप्रसाद रेग्मी, आर्या द रिसिोर्टका अमितराज मुल्मीलगायतले उर्जा बचतका प्राप्त हुने अनुदानको प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।