अंग्रेजी माध्यमले विद्यार्थी बढे

अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको १ विद्यालयमा विद्यार्थी संख्या भने बढ्दै गएको छ । ४ वर्ष अघि ३ सय ५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३, बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर १ हजार १ सय ३२ पुगेका छन् ।

‘समयको माग अनुरुप नेपाली तथा अंग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताए ।

विद्यालयमा प्राविधिक शिक्षाका लागि शिक्षा मन्त्रालयअन्तर्गतको कक्षा ९–१२ मा सिभिल इञ्जिनियरिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) मा एसइईपछिको ३ वर्षे सिभिल इञ्जिनीयरिङ पढाउन प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनले भने, ‘कार्यक्रम स्वीकृत भएसँगै आउने शैक्षिक सत्रदेखि नै कक्षा चलाउने तयारी गरेका छौं ।’ नेपाली माध्यममा पढाइ हुँदा विसं २०७१ मा ३ सय ५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अंग्रेजीमासमेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी संख्या बढ्दै २०७२ मा ५ सय २१, २०७३ मा ६ सय ९१, २०७४ मा ९ सय ४० हुँदै २०७५ मा १ हजार १ सय ३२ विद्यार्थी पुगेको हो ।

अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम ३ दशमलव ९ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताए ।

एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मंसिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष गणेशप्रसाद ढकाल अंग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउछन् ।

गुणस्तरीय शिक्षाका लागि त्यही किसिमका पूर्वाधार विकासलाई पनि आफूँहरूले प्राथमिकतामा राखेको बताउँदै उनले प्रविधिमा आधारित शैक्षिक कार्यक्रमको विकास गर्न सम्बन्धित निकायमा पहल भैइरहेको जानकारी दिए ।

‘प्रविधिमा आधारित शिक्षाका लागि पोखरा महानगरपालिका र सूचना विभागसँग सहयोगका लागि प्रस्ताव पेश गरिएको छ’, उनले भने, ‘कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउँदै पठनपाठनमा चक, डस्टर तथा कागजकोे प्रयोग हटाउने दीर्घकालीन सोच छ ।’

विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालनसँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् ।

पोखरा महानगरपालिका–३३ भित्रका विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिवृद्धिको विषयलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए । ‘गुणस्तरीयतासँगै विद्यार्थीमा व्यवहारिकता, नैतिकता जस्ता शिक्षाका महत्वपूर्ण पक्षमा सबैको चासो जानु आवश्यक छ’, उनले भने ।

वडामा भूगोल सुहाउँदो प्राविधिक शिक्षा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा आफू लागेको उनको भनाइ थियो ।
वडामा अघिल्लो वर्ष विद्यालय बाहिर रहेका सबैलाई विद्यालयमा ल्याउने गरी थालिएको अभियान सफल भएको वडा सदस्य दीपक लामिछानेले बताए । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि महानगरपालिकाबाट पनि शिक्षा नीति बन्दै गरेको जानकारी दिँदै उनले शिक्षक, विद्यार्थी तथा अभिभावकको सामुहिक प्रयासमा गुणस्तरीयता कायम गर्न सकिने बताए ।