पूर्वेली बादलको पोखरामा कविता वर्षा

पूर्वकी शक्तिशाली कवि वादलदेवी चाम्लिङ शनिबार पोखरेलीलाई रोज्जा कविता सुनाउन आइपुगिन् । पाँचथरमा जन्मेर अहिले मोरङको बेलबारीमा बस्ने बादलले पूर्वेली लवजले परिपुष्ट करिब १ दर्जन कविता सुनाइन् ।

नारी प्रतिभा वाङमय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा आमा, पहाड, अभिमान र प्रेम हजुरको जीत मलाई मनपर्छ लगायत कबिता उनले सुनाइन् । पाठेघर कविता संग्राह मार्फत नेपाली साहित्य आकाशमा छाउन सफल भएका कवि चाम्लिङले कार्यक्रममा नारी प्रतिभा, अस्तित्व, अधिकार लगायत आमालाई सर्मपित गर्दै कविता वाचन गरिन्।

चाम्लिङलाई गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमू, कवि सरस्वती श्रेष्ठ सरु र कवि सुदर्शन पौडेलले वाचनमा सघाए । साहित्यकार छन्दमणिले उनलाई यथार्थवादी र जीवनवादी कविको रुपमा चिनाए ।

नारी वाङमय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी थापाले गरेकी थिइन् ।