‘फूलको विद्रोह’ लिएर आइन् अनिता

अनिता न्यौपानेको ‘फूलको विद्रोह’ कविता सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, कवि निमेष निखिल र कवि ज्ञानु अधिकारीले सयुक्तरुपमा सार्वजनिक थरे ।

अध्यक्ष श्यामलले कवि न्यौपानेले समाजमा आफूले देखे, भोगेका कुरालाई कवितामार्फत सार्वजनिक गरेको बताए । उनले कविताको शैली पहिलेजस्तो नभई भावनात्मकरुपमा पाठक र समालोचकले पढ्ने खालको हुनुपर्ने विचार राखे । “कविताले भावनालाई उद्धेलित गर्ने खालको हुनुपर्दछ । पाठकको सोच्न सक्ने तन्तुलाई प्रभावित पार्नुपर्दछ”, उनले भने ।

कवि निखिलले न्यौपानेले आफ्ना कवितामा सौन्दर्यलाई मानिससँग जोडेर अहिलेको देश र समाजको परिवेशलाई चित्रण गरेको बताए । ्
कवि अधिकारीले कविता सङ्ग्रहलाई फूलको विद्रोह नभई नारीको विद्रोहको सङ्ज्ञा दिँदै नारी संवेदना, विभेद र समानताका कुरा कवितामा उल्लेख गरिएको बताइन् ।
कार्यक्रममा कवि न्यौपानेले समाजमा देखिएका विकृति विसङ्गतिलाई कवितामा उतारेको सुनाइन् । सो कविता सङ्ग्रहमा ‘एकाबिहानै’, ‘अनुहार’, ‘सुन्दरी केटीको बयान’, ‘छोरीले सिकाएको प्रेम’ लगायका कविता छन् ।