जिएमसी र खुमालाई कारवाही गर्न माग

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट भ्रातृसङ्गठन अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले तोकिएको भन्दा बढी शुल्क लिने पोखरास्थित गण्डकी मेडिकल कलेज(जिएमसी)का सञ्चालक खुमा अर्याललाई पक्राउ गर्न माग गरेका छन् ।

शुक्रबार अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले विज्ञप्ति जारी गर्दै बढी शुल्क असुल गरी फरार रहेका आर्याललाई तत्काल पक्राउ माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको उक्त कलेजले एमबिबिएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि कलेजका विद्यार्थीले आन्दोलन गरेका थिए । विज्ञप्तिमा आर्याललाई पक्राउ गरी तोकिएको मापदण्डभन्दा बढी लिएको शुल्क फिर्ता गर्नसमेत माग गरिएको छ ।

यस्तै सरकारले तोकेको शुल्कभन्दा बढी लिए÷नलिएको छानबिन गरी त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर हदैसम्मको कारवाही गर्नसमेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा शृङ्खलाबद्ध रुपमा सरकार, विश्वविद्यालय र डीन कार्यालयलगायत नियमकारी निकायको नीति, नियम र निर्देशन अवज्ञा गर्ने कलेजको सम्बन्धन खारेज गरी त्यस्ता कलेजको स्वामित्व सरकारले लिनुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा ७२ घण्टाभित्र आफ्ना माग पूरा नगरे त्रिवि उपकुलपति कार्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र तत्काल समस्या समाधान गर्न नसके त्रिवि पदाधिकारी र चिकित्सा अध्ययन संस्थानको डीनको राजीनामा माग गर्ने उल्लेख छ ।