जिएमसीले बदमासी गरेको मेडिकल काउन्सिलको ठहर

- कलेजले लिन मिल्न शिर्षकमा १६ गुणासम्म बढी रकम लिएको छ

गण्डकी मेडिकल कलेज(जिएमसी)ले शुल्कका विषयमा बदमासी गरेको नेपाल मेडिकल काउन्सिलले ठहर गरेको छ । कलेजको शुल्कका विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरेपछि काउन्सिलको टोलीले स्थलगत अध्ययन गरेको थियो।

टोलीले अध्ययनका क्रममा कलेजले विद्यार्थीसँग काउन्सिलको रजिष्ट्रेसनका लागि लिनुपर्ने ३ हजार रुपैयाँ पनि ५० हजारसम्म लिने गरेको फेला पारेको छ। कलेजले लिन मिल्न शिर्षकमा १६ गुणासम्म बढी रकम लिएको छ भने लिनै नपाइने शिर्षकमा समेत लाखौं उठाइरहेको काउन्सिलको टोलीले फेला पारेको छ।

काउन्सिलले अध्ययनका क्रममा फेला पारेका तथ्यालाई आधार मानेर प्रतिवेदन बनाएको छ। काउन्सिलले नियामक निकाय त्रिभूवन विश्वविद्यालयलाई विद्यार्थीबाट बढी उठाएको रकम फिर्ता गर्न र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ।

उक्त पत्र शिक्षा मन्त्रालयमा समेत पठाइएको छ। कलेजले स्थानीय विद्यार्थीसँग पनि छात्रावास र यातायातको साधनको रुपमा शुल्क उठाउने गरेको अध्ययनका क्रममा टोलीले फेला पारेको छ।

काउन्सिलले फागुन ११ मा अध्ययानका लागि सदस्यहरु विश्वराज दवाडी, कालुसिंह खत्री र सुनीलकुमार शाह सदस्य रहेको टोली खटाएको थियो। उक्त टोलीले काउन्सिलमा १५ गते प्रितवेदन बुझाएको थियो। काउन्सिलले अध्ययनका क्रममा विद्यार्थीबाट अवैध रुपमा विभिन्न शिर्षकमा उठाएको पैसा कलेजले व्यक्तिगत खातामा जम्मा गर्ने गरेको समेत भेटिएको छ।