दाहालले भने,कास्की-२ को नेतृत्वका लागि विद्या सक्षम उम्मेद्वार, उपयुक्त निर्णय लिइन्छ’

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की क्षेत्र नम्बर–२ को नेतृत्व लिन स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई (अधिकारी) सक्षम र उपयुक्त उम्मेद्वार हुनसक्ने बताएका छन् ।

प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विद्यालाई कास्की २ मा उम्मेद्वार बनाउन सकिने संकेत दिएका छन् । उनले पार्टीमा औपचारिक छलफल भएको नभए पनि पार्टीको स्थानीय संगठन र सबै सरोकारवालाको समन्वयमा उपयुक्त निर्णयले लिइने बताएका छन् ।

सञ्चारमाध्यमले पार्टीका नेता वामदेव गौतमको नाम चर्चामा ल्याए पनि रवीन्द्रकै परिवारबाट उम्मेद्वार उठाउन सकिने र यो न्यायसंगत पनि हुने बताएका छन् । ‘कास्की–२ मा उपनिर्वाचनबारे पार्टीमा औपचारिक रुपमा कुरा भइसकेको छैन’, उनले भने, ‘सञ्चारमाध्यममा वामदेवजीको सन्दर्भ पनि आएको सुनियो । उहाँले आफू नउठ्ने भनेर सबैलाई स्पष्ट पारिसक्नु भएको छ, वामदेवजीबारे पार्टीमा कुनै चर्चा चलेको छैन ।’ 

प्रचण्डले रवीन्द्रको परिवार पनि राजनीतिक भएकाले त्यहींबाटै उम्मेद्वार उठाउन सकिने बताएका हुन् । ‘कास्की जिल्लाका साथीहरुले पनि उचित उम्मेद्वारको नाम सिफारिस गर्नुहोला । परिवारको सदस्यबाटै जाँदा उपयुक्त हुन सक्छ’, दाहालले थपे, ‘उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिको हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबै कुरा विचार गरेर पार्टीले उपयुक्त निर्णय लिनेछ ।’