नेपाल तरुण दलले स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सिके राउतलाई जेल हाल्न सरकारसंग माग गरेको छ ।
खुलेआम राष्ट्र बिखण्डनको नारा लगाउने छुट कसैलाई नरहेको स्मरण गराउँदै तरुण दलले राउतलाई पक्राउ गर्न सरकारसंग माग गरेको हो । प्रेस युनियन चितवन शाखाले मंगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहिले बिखण्डनका कुरा गर्ने जो कोही कार्वाहीको भागीदार हुनुपर्ने बताए ।
शाहिले भने –‘चाहे सिके राउत होस, चाहे पिके राउत होस या केपि राउत जो सुकै होस, बिखण्डनकारी नारा लगाउने सबैलाई जेल हाल्नुपर्छ। यो उ भनेर उन्मुक्ति पाइँदैन’ । राष्ट्र बिभाजनको मुद्धा देशभक्त नागरिकले सुन्न समेत नसक्ने शाहिले स्पष्ट पारे । आँफ्नै पार्टी नेकपा र प्रमुख प्रतिपक्षीसंग एकपट पनि छलफल नगरी सम्झौता गरिनु नै प्रथम दृष्टिमा गलत रहेकाले त्यसभित्रका बुँदाबारे छलफल गरिरहनु नपर्ने शाहिको तर्क छ ।






