नव सिद्धार्थ महिला सहकारीको दन्त शिविरमा ३ सय ५१ जनाको दाँत परीक्षण

- वर्षमा २ पटक दाँत परीक्षण आवश्यक : डा. पालिखे

पोखराको सिद्धार्थचोक, बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारीले निःशुल्क दन्त शिविर आयोजना गर्यो । नारी दिवसको अवसरमा आयोजित २ दिने शिविरमा ३ सय ५१ जनाले दाँत परीक्षण गराए । शिविर ग्रिन लाइफ डेन्टर केयर सेन्टरको सहयोगमा भएको हो ।

उक्त अवसरमा दन्त विशेषज्ञ डा. सञ्जिता माकाजू पालिखेले स्वस्थ दाँतका लागि वर्षमा २ पटक दाँत परीक्षण गर्नुपर्ने सुझाव दिइन् । उनले स्वस्थ हाँसोलाई कायम राख्नका लागि पनि दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले समयमै दाँतको परीक्षण गराउन आग्रह गरिन् । डा. पालिखेले दाँतमा अन्य कुनै समस्या भएमा समयमै रोगको पहिचान भई दाँत तथा गिजाको संक्रमण हुनबाट समेत जोगाउन सकिने स्पष्ट पारिन् ।

‘किराले खाएको दाँतको समयमै उपचार नगरेको खण्डमा त्यसले दाँत निकाल्नु पर्ने, जरादेखि नै निकाल्नु पर्ने र अर्को दाँत हाल्नु पर्नेसम्मको जटिल समस्या उत्पन्न गराउन सक्दछ । यस्तो समस्या जटिल त हुन्छ नै, महँगो पनि हुन्छ’, डा. पालिखेले भनिन्, ‘६-६ महिनामा गरिएको दाँत परीक्षणले भिटामिनको कमी, क्याल्सियमको कमी, मधुमेह लगायतका समस्या समेत पहिचान गर्न सघाउ पुर्याउँछ । जुन, मुखको चेकजाँचद्वारा पत्ता लाग्न सक्छ ।’

कहिलेकाही दाँतसँग सम्बन्धित नै नभएको समस्या समेत दन्त चिकित्सकका जाँदा पत्ता लाग्न भएकाले केही समस्या परे ग्रिन लाइफ डेन्टर केयर सेन्टरमा आउन उनले आग्रह गरिन् ।

शिविर उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष रवीरमण तिवारीले नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अन्य सरकारीले नव सिद्धार्थबाट शिक्षा लिनुपर्ने बताए ।

सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठले समयमा गरिएको दन्त परीक्षण आर्थिकरुपमा पनि किफायती हुने बताए । उनले दन्त शिविर आयोजना गरेर नव सिद्धार्थ सहकारीले महत्वपूर्ण काम गरेको बताए ।

संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक भवानी माकाजूले सहकारीको बारेमा जानकारीसहित स्वागत र सञ्चालन सचिव शारदा गौतमले गरेकी थिइन् ।

दन्त उपचारमा २० प्रतिशत छुट !
सिद्धार्थचोकको ग्रीन लाईफ डेन्टल केयर सेन्टरले आफ्नो सबै सेवामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । संस्थाका प्रवन्ध निर्देशक कृष्णराज ढकालका अनुसार नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाको सिफारिस लिएर आउनेलाई सबै सेवामा २० प्रतिशत छुट दिइनेछ ।
५ वर्ष अघि करिब १५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ग्रीन लाईफ डेन्टल केयर सेन्टरमा दन्त परीक्षण तथा परामर्श, दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार, दाँतमा खोल राख्ने, नमिलेको दाँत मिलाउने, दाँतको एक्सरे, दाँत चम्काउने, नक्कली दाँत बनाउने जिगा रोगको उपचार लगायतका सेवा रहेको प्रवन्ध निर्देशक ढकालले जानकारी दिए ।