हिमपातले मरेका चौपायाको क्षतिपूर्ति देऊ : तुलाचन

- उपल्लो मुस्ताङका पशुपालक किसान रुनु न हाँस्नु

यसवर्ष परेको लगातारको हिमपातको प्रभावले करोडौंका क्षति व्यवहोर्न पुगेका उपल्लो मुस्ताङ लगायत तल्लो मुस्ताङका पशुपालक किसानलाई आवश्यक क्षतिपूर्ति दिलाईदिन सरकार संग माग गरिएको छ ।


आईतबार प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको कोरलानाका स्थित सीमावर्ती क्षेत्र आसपास र थासाङ गाउँपालिकाका दर्जनौ स्थानीय पशुपालक किसानको करोडौं मुल्य बराबरको याकचौरी तथा भेडाबाख्रा हिमपातका कारण मरेकाले क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग माग गरेका छन्।

दैवी तथा प्राकृतिक प्रकोपको पीडाँले उपल्लो मुस्ताङका पशुपालक किसान रुनु न हाँस्नु अवस्था भएको उल्लेख गर्दै उनले सदनमा उपल्लो मुस्ताङको परम्परागत पशुपालन व्यवसाय जोगाउन सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए ।

‘उपल्लो मुस्ताङको दुर्गम गाउँमा सयौंका संख्यामा याकचौरी तथा भेडा मरे र मर्ने क्रम जारी छ ।हिमपातका कारण उद्दारकार्य असहज भएको छ,’सांसद तुलाचनले भने,‘सुरक्षाकर्मी टोली घटना स्थलतर्फ जादैछन्,कति क्षति भयो भन्ने बिवरण आउन बाँकी छ ।’


सांसद तुलाचनले राष्ट्रिय गौरवको आयोजना कोरला सडक हिमपातकै कारण प्रभावित भएको सदनलाई जानकारी गराए ।उपल्लो मुस्ताङमा सडक स्तरोन्नतिका लागि कामदार र प्राविधिक टोली पुगेपनि बाक्लो हिमपातकै कारण काम गर्न नसकेर फर्किएको उनले सदनलाई जानकारी गराए ।


प्राकृतिक प्रकोप हिमपातको असरले धमाधम चौपाया मरेको र जिल्लाका किसानले करोडौं क्षति व्यवहोनु परेको उल्लेख गर्दै सांसद तुलाचनले आईतबारनै नेपाल सरकार गृह तथा पशुपंक्षी मन्त्रालय दुबैमा लिखित क्षतिपूर्ति दिलाउन समेत लिखित निवेदन पेश गरेका हुन् ।