विद्यालयमा भएको अनियमितताबारे छानबिन जारी रहेका बेला पोखरा ७ मासबारको श्रीकृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा आर्थिक अनियमिततामा आफ्नो संलग्ना नभएको दाबी गरेका छन् ।

यसअघि पूर्व प्रधानाध्यापक केदारनाथ अधिकारीसँग मिलेर तेजनारायणले लाखौं हिनामिना गरेको समाचार सार्वजनिक भएको थियो । अधिकारीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो जनाएका हुन् । विद्यालयमा भौतिक संरचना निर्माण तथा पुस्तकालय व्यवस्थापन गर्दा आर्थिक अनियमितता भएको भन्ने विषयमा छानबिन भइरहेको छ । वर्तमान विद्यालय व्यवस्थापन समिति, वडा नम्बर ७ को कार्यालय र पोखरा महानगरपालिकाले छानबिन प्रक्रिया अगाडि बढाएको अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘सत्यतथ्य छानबिनको लागि प्रभाव नपरोस भन्ने हेतुले सम्बन्धित विषयहरुमा आफ्ना कुनै धारणा सावर्जनिक नगरेको व्यहोरा अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘छानबिनबाट प्राप्त प्रतिवेदनपछि सो सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’




