सकियो सिटी रेबान महोत्सव

पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेबान) पोखराद्वारा आयोजित ‘सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल’ शनिबार सकिएको छ ।

महोत्सवको अन्तिम दिन भाग्यशाली दर्शक छनोट गरिएको थियो । टिकट काटेर प्रवेश गरेकाहरुमध्येबाट १ जनालाई कम्प्युटर उपहार प्रदान गर्न टिकट नम्बर गोलाप्रथाबाट निकाल्दा ३५७ नम्बर परेको जानकारी सिटी रेबानका अध्यक्ष दीपक तिमिल्सिनाले दिए । उनका अनुसार उक्त नम्बरको टिकटवालाले १ हप्ताभित्र सम्पर्क गर्नुपर्नेछ । उक्त उपहारको प्रायोजन पाण्डे कम्प्युटर न्युरोड पोखराले गरेको छ ।

फागुन १९ देखि महोत्सव सुरु भएको थियो । महोत्सव सफल भएकोमा अध्यक्ष तिमिल्सिनाले सहयोगी सबैलाई धन्यवाद दिएका छन् । ‘सुरक्षाकर्मी, प्रायोजक, दाताहरु, आमा समूह, क्लबहरु तथा महोत्सवमा सहभागी सबै व्यवसायी र मिडियाकै कारण महोत्सव भव्य र सभ्य रुपमा सफल भयो,’ उनले भने, ‘उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।’

महोत्सवमा १ सय ३० वटा स्टल थिए । १० वटा खाना तथा खाजासहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल थिए । शिवरात्रिको अवसर पारी महोत्सवस्थलमा शिवलिंग निर्माण गरिएको थियो । यसपटक क्यान कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधि मेलासमेत सँगै आयोजना भएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति थियो । पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा भए । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण थियो ।