अपहरणमा परेकी सांसद विप्लव माओवादी नेताकै छोरी !

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपरहण गरेकी नेकपा सांसद देवकी मल्ल विप्लवकै नेकपाका नेताकी छोरी भएको खुलासा भएको छ । सांसद देवकी मल्लका बुवा धनराज मल्ल नेकपाकै केन्द्रीय सल्लाहकार हुन् ।

उनी पार्टी विभाजन नहुँदा पनि एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार थिए । सांसद मल्लका भाइ भरत मल्ल पनि विप्लवकै विद्यार्थी संगठनका नेता हुन् । पूर्व माओवादी पृष्ठभूमिका मल्ल पार्टी गठनदेखि नै विप्लव समूहमा छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका–५, बगडीपाउटाबाट सांसद मल्ललाई सम्पर्कमा ल्याएको छ । सांसद मल्लको घर तत्कालीन गाविसको सन्स्यु भन्ने स्थानमा हो । सांसद मल्लको घर र प्रहरीले सम्पकंमा ल्याएको स्थान नजिकै पर्छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ । १ अज्ञात व्यक्तिले सांसदको अपहरण भएको जानकारी प्रहरीलाई गराएका थिए । सांसद मल्लको मोबाइल भने स्वीच अफ छ ।

नारी दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मल्ललाई केही कुरा गर्नु छ भन्दै लगेको बताइएको छ । सांसद मल्ललाई प्रहरीले सदरमुकाम ल्याएको भए पनि संलग्न कोही पक्राउ परेका छैनन् । उनको अपरहण हो वा पारिवारिक विवाद भन्ने खुल्न नसकेको प्रहरी स्रोतले बतायो । नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सांसद मल्ललाई २ घण्टा नियन्त्रणमा राखेको जानकारी पाएको बताए ।