कांग्रेस सभापति देउवापछि वरिष्ठ नेता पौडेल पनि पोखरा आउँदै

- महाधिवेशन संकेत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उच्च तहका नेताहरू जिल्ला दौडाहामा सक्रिय छन् । पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला दौडाहा, नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्र बनाएका छन् । यसैक्रममा उनी शुक्रबार कास्की आउँदैछन् भने शनिबार बिहान म्याग्दी जाँदैछन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्ला दौडाहा शुरु गर्न लागेका छन् । उनको यात्रा गण्डकीबाट शुरु हुने बताइन्छ । नेता पौडेल शनिबारदेखि गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न जिल्ला दौडाहामा निस्कने कार्यक्रम तय भएको छ ।

पौडेल चैत १ गते काठमाडौं फर्कने कार्यक्रम छ । पौडेल गण्डकी प्रदेशका कास्की, म्याग्दी, बाग्लुङ र मा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

साथै नेता पौडेल ५ नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्घाखाँची र कपिलवस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनका अनुसार वरिष्ठ नेता पौडेलले फागुन २५ शनिबार गते बिहान पोखरा हुँदै म्याग्दी पुगेर कांग्रेस जिल्ला कार्यसमितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने छन् । फागुन २६ गते बिहान ९ बजे बाग्लुङको बेनीबाट पर्वतको कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् । जहाँ उनको भेट पार्टी सभापति देउवासँग हुनेछ । सोही दिन पौडेलले बिहान साढे ११ बजे कांग्रेस कास्कीको आयोजनामा नवनिर्वाचित नेपाल प्रेस युनियनका पदाधिकारी तथा सदस्यहरू सँग भेटघाट गर्ने कार्यक्रम छ । फागुन २७ गते कांग्रेस परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्ने छन् ।

फागुन २८ गते दिउँसो १ बजे शीतगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखी क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन गरेर पौडेलले दिउँसो ३ बजे सन्धीखर्क नगरपालिका–६ मा रहेको नरपानीको वीपी पार्क र वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सोही दिन बेलुकी ६ बजे सन्धीखर्कमा पौडेलको पत्रकार सम्मेलन हुनेछ ।

फागुन २९ गते बिहान ८ बजे नेपाल महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेर उनी दिउँसो साढे १२ बजे छत्रदेव गाउँपालिका वडा नं. ४ मा सहिद राममणि ज्ञवाली, सहिद शिवलाल पोखरेल, सहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण कार्यक्रममा सहभागी हुनेछन् । सोही दिन सहिद रा.शि.प. स्मृति भवन उद्घाटनपछि नेता पौडेलले दिउँसो १ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

फागुन ३० गते नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन गर्ने र चैत १ गते कपिलवस्तुका विभिन्न स्थानहरूमा कार्यकर्ता भेलालाई सम्बोधन गरेर उनी काठमाडौं फिर्ता हुनेछन् ।

शीर्ष नेताद्वयको जिल्ला दौडाहालाई कतिपयले महाधिवेशनमा नेतृत्वका लागि सुरु भएको दौडका रुपमा पनि अथ्र्याएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल संस्थागत रुपमा महाधिवेशनका लागि प्रक्रिया सुरु गर्नु नै मुख्य कुरा भएको बताउँछन् । सिटौला निकट मानिने पौडेल भन्छन्, ‘पालिका, वडा, प्रदेश समितिहरू खाली छन् ।

मुख्य काम गर्नेतर्फ नेताहरूको ध्यानै छैन । अल्पमत र बहुमतका आधारमा निर्णयहरू भइरहेका कारण पार्टीमा विभाजन छ भन्ने बाहिर सन्देश गएको छ । त्यो सन्देशलाई चिरेर पार्टीमा एकता प्रतिबिम्बित हुने गरी निर्णयहरू हुन थाल्यो भने कार्यकर्ताहरू त्यसै खुशी हुन्छन् ।’

मुख्य जिम्मेवारीलाई प्राथमिकतामा नराखेर नेताहरू जिल्ला दौडाहामा केन्द्रित भएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘अरु कुराहरू भ्याएर जिल्ला जानु नराम्रो भने होइन, कार्यकर्तासँग जोडिने कुरा पनि नराम्रो होइन । तर यसभन्दा पनि बढी प्राथमकिता आन्तरिक किचलो मिलाएर महाधिवेशनका लागि संस्थागत रुपमा प्रक्रिया सुरु गर्नुपर्ने हो ।’

पार्टीभित्र आम एकता कायम गर्नका लागि समन्वय गर्ने, मतभेद हटाउनका निम्ति संवाद बढाउने, अनौपचारिक बैठकहरू गर्ने, पार्टी सम्पूर्ण रुपमा एकीकृत छ, पार्टी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार भएर आएको छ भन्ने बनाउनु भन्दा पनि बाहिर डुल्ने काम भइरहेको उनको भनाइ छ । ‘अन्तरविरोध धेरै बढेको छ ।

एउटा नेता जानुभयो र अर्को नेता जानुभएन अनि तल्लो तहमा गतिविधि भएन भने जसको गतिविधि भएको छ, त्यसकै पक्षमा निर्णय आउँछ भन्ने मनोभावना छ । त्यही भएर महाधिवेशनको अत्तोपत्तो नभए पनि तत्काल आफ्नो स्थिति बलियो कायम गर्न उहाँहरू जिल्ला दौडाहामा लाग्नुभएको हो’, पौडेलले थपे ।

५६ जिल्ला सभापतिहरूले महासमितिको म्याण्डेट अनुसार निर्णय पुनर्विचार गर्न माग गरेको सन्दर्भमा सभापतिको खिलापमा माहोल देखिएको र त्यसले पनि सभापति बढी आत्तिएर दौडाहामा निस्किएको उनको तर्क छ । वरिष्ठ नेता पौडेलका सहयोगी चीरञ्जीवी अधिकारीले भने यसलाई महाधिवेशनको तयारी स्वरुप गरिएको जिल्ला दौडाहा भन्न नमिल्ने बताए ।

‘जिल्लामा आयोजना भएका कार्यक्रममा सहभागी हुनका लागि तय गरिएको कार्यतालिका मात्रै हो । जिल्ला दौडाहालाई महाधिवेशनको तयारी नै भन्न मिल्दैन’, उनले भने । कांग्रेस केन्द्रीय सदस्य डा. डीला संग्रौलाले पनि जिल्लामा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुनुपर्ने भएकाले कतै महाधिवेशनको तयारी त होइन भन्ने देखिएको बताइन् ।