छोराका लागि पस्कन्छौं हामी अनेकौं परिकार
छोरीलाई किन दिँदैनौं अझै समान अधिकार ।
समता भन्ने कुरा भो अब आकाश पारीको
गालामा आँसु झर्दैछ अझै विचरा नारीको
यो आधासंसार ओझेलमा पर्छ टुक्रिन्छ परिवार
पुरुषलाई जति नदिए देखि नारीलाई अधिकार ।
घरको धन्दा पुरुषको भन्दा नारीकै वर्ता छ
तैपनि धेरै छोरीको भन्दा छोराकै सुर्ता छ
पुरुष यदि मूर्ति हो भने नारी हुन् मूर्तिकार
यी मूर्तिकारलाई चाहिन्छ अब समान अधिकार ।
अनिच्छित बस्तु नफाले आफै कसरी भाग्दछ ?
एउटाको ज्यानमा अर्काको हक कसरी लाग्दछ ?
अन्याय अब सहने होइन गर्ने हो प्रतिकार
पुरुषलाई जति दिइन्न भने नारीलाई अधिकार ।
३० मार्ग, ०५७ बैदाम, पोखरा




