जोमसोम एयरपोर्टको रनवे स्लोप देखि प्रि–कालोपत्रे स्तरोन्नति

मुस्ताङको एकमात्र जोमसोम बिमानस्थलको स्तरोन्नति गरिने भएको छ । सुरक्षित बिमान अवतरण तथा बिमान स्थल व्यवस्थित तुल्याउन नेपाल नागरिक उड््डयन प्राधिकरणले करिव ९ करोड बजेट बिनियोजन गरेको हो ।


प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको अध्यक्षतामा बिहिबार सरोकारवालाबीच प्रशासनमा भएको बैठकले बिमानस्थल स्तरोन्नतिकार्यलाई असर नपर्ने गरी तोकिएको समयमा पूरा गर्न जोमसोम बिमान स्थललाई उडान समय तालिका मिलाउने निर्णय गरेको हो ।बैठकले चैत्र १ गते देखि नै लागु हुने गरी पोखरा÷ जोमसोम उडानका लागि अन्तिम उडान समय बिहान १० बजे तोकिएको जोमसोम नागरिक उड््डयन कार्यालयका प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए ।मुस्ताङको पर्यटन सिजनेबल समयलाई ध्यानमा राखेर समय तालिका मिलाईएको र बिहान १० बजेपछि उडान निषेध गरिएको उनको भनाई छ ।


मुस्ताङको जोमसोम बिमान स्थल धावनमार्गको कुल क्षेत्रफल ८ सय १४ मिटर लामो छ ।प्राधिकरणले यहाँ बिमान स्थल क्षेत्रको स्तरबृद्धि तथा व्यवस्थित गराउन ५ वटा सुधारका कामहरु अघि बढाउन कार्यसुचि बनाएको ईन्जिनीयर पुष्पराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार धावनमार्गको दक्षिण रनवे(०६)को २ सय १० मिटर लामो धावनमार्ग क्षेत्रको स्लोप मिलाउने,पुरै रनवे धावनमार्गलाई प्रि–कालोपत्रे गर्ने तथा एप्रोज टेक्सिवेएलाई ५ सेमी कालोपत्रे गर्ने,जोमसोमको पुथाङ बजारको ढल व्यवस्थित गर्न रनवे भित्रको ढललाई मर्मत तथा व्यवस्थित गराईने,बिमान स्थल क्षेत्रलाई उडान सुरक्षित गर्न पुरानो तारबारलाई हटाई नयाँ तारबारसहित उचाई बृद्धि गर्ने र जोमसोम बिमान स्थल धावनमार्ग जोगाउन कालिगण्डकी नदी नियन्त्रणका लागि आवश्यक स्थानमा ग्याबिन वाल लगाउने आदी गरिने छ ।


जोमसोम बिमान स्थलको स्तरोन्नतिकार्य एपेक्स कन्ट्रक्सनले जिम्मा लिएको हो ।निर्माण कम्पनीको सम्झौता अवधि ६ महिनाको तोकिएपनि आगामी ज्येष्ठ मशान्त सम्म बिमानस्थल सम्वन्धि संम्पूर्णकार्य संम्पन्न गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम अघि बढेको ईन्जिनीय न्यौपानेले जानकारी दिए ।रनवे कालोपत्रेका लागि नियमित उडानलाई असर नपर्ने गरी धावनमार्ग सुधारका काम अघि बढाईने तर, आवश्यक परेको खण्डमा कम्तिमा करिव १५ दिन पुरै उडान बन्द हुनसक्ने उनको भनाई छ ।


जोमसोम बिमान स्थलको पूर्वतर्फ कालिगण्डकी नदी छ ।यसअघि नदी किनारामा आवश्यक तटबन्ध नहुदा बिमान स्थल जोखिममा रहेको हो भने,अर्को तर्फ पुथाङ एयरपोर्ट बजारको ढल समेत धावनमार्ग भित्रको ढल हुदै कालिगण्डकीमा निकासा गरीएको छ ।तर,ढल व्यवस्थित नहुदा कालोपत्रे रनवेलाई असर पुगेको थियो ।त्यस्तै,दक्षिण तर्फ रनवे स्लोप असन्तुलित हुदाँ यहाँ अवतरण गर्ने बिमानहरुको रनवे क्षेत्र साँघुरिएको हो ।


बिमानस्थल निर्माणकार्य सुरु भएको र समय तालिका मिलाईएकाले पोखरा÷ जोमसोम उडानमा आशिक प्रभाव पर्ने देखिएको छ ।फागुन देखि मुस्ताङमा दैनिक ६ देखि १२ उडान सम्म हुने गर्छ ।तर,जोमसोममा उत्तरी हावा चल्दा र मौसम नखुल्दा ढिलो मात्र उडान हुने गर्छ । मुस्ताङमा तारा र समिट एयरलाईन्सले उडान भर्दै आईरहेका छन्् ।