पोखरा चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा विभिन्न महिलालाई सम्मान गरेको छ । संस्थाले पोखराका ७ महिलालाईसम्मान गरेको हो । सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट उमा लामिछने, सहकारीबाट कमलादेवी गिरी, उद्यमीबाट राजकुमारी क्षेत्री, पत्रकारिताबाट नरमाया रसाइली, यातायात क्षेत्रबाट विष्णु कुँवर, कलाकारिता क्षेत्रबाट मिलन शेरचन र पर्यटन क्षेत्रबाट इन्दिरा बराल छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हरिबहादुर चुमानले नेपालमा विभिन्न काल खण्डमा भए गरेका आन्दोलनले सबै तह र तप्काको अधिकार स्थापित गरेको बताए । उनले नेपालको संविधान विश्वको उत्कृष्ट भएको बताउंदै संविधानसँग बाझिएका कानुन संशोधन प्रक्रिया रहेको बताए ।
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले लैंगिक आधारमा विभेद गरे विकास अगाडि वढ्न नसक्ने बताइन । उनले अब वन्ने कानुन महिला मैत्री हुनुपर्नेमा जोड दिइन् । अर्का प्रदेश सांसद पुष्पा केसी भण्डारीले अब महिलाले गरेका सबै श्रमको हिसाब खोज्ने वेला भएको बताइन् ।
कास्की चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले चेम्बरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलालाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए । उनले कास्कीका सबै स्थानीय तहमा संगठन २ महिनाभित्र बनिसक्ने बताए ।
कार्यक्रममा चेम्बरका सल्लाहकार यदुनाथ अधिकारी, महासचिव उमाराज बास्तोला, चेम्बरको उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी गौतम र उपाध्यक्ष यमनाथ पौडेलले पनि बोलेका थिए ।





