प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान चिकित्सकले भर्ना लिएका थिए ।
स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनको उपचारमा संलग्न डा अरुण सायमीले भने, ‘प्रधानमन्त्रीज्यूको सबै रिपोर्ट नर्मल भएपछि भर्खरै डिस्चार्ज गरिएको छ।’
त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको थियो ।
प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो ।
अस्पतालले प्रधानमन्त्रीको केही परीक्षण गर्नुपर्ने देखिएको मनमोहन कार्डियोलोजी एवम् भास्कुलर सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका थिए ।






