कुस्मा–बलेवा यान्त्रिक पुल सञ्चालन

सदरमुकाम कुस्माबजार र छिमेकी जिल्ला बागलुको बलेवा जोड्ने केबुलकार जस्तै यान्त्रिक पुल मर्मत पछि पुनः सञ्चालनमा ल्याइएको छ । नियमित मर्मतका लागि विगत दश दिनअघिदेखि बन्द गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल मर्मतपछि आइतबार साँझदेखि सञ्चालनमा लाइएको हो । मर्मतका लागि फागुन १० गतेदेखि पुल बन्द गरिएको थियो ।

पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लट्ठाहरूमा समस्या देखिएपछि मर्मतका लागि बन्द गरिएकामा लट्ठा परिवर्तन गरेर सञ्चालनमा ल्याइएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए ।

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका थिए । पर्वतको सदरमुकाम कुस्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५ सयले आवातजावत गर्छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लट्ठा एक÷एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको शर्माले बताए । तर यसपटक २५ महीनापछि मात्रै लट्ठामा समस्या देखिएकाले बन्द गरेर मर्मत गरिएको उनको भनाइ थियो ।

१० दिनसम्म पुल बन्द हुँदा झण्डै १५ लाख रुपैयाँ नोक्सानी भएको कम्पनीले जनाएको छ । यो पुल २०६८ सालमा करीब ४ करोडको लागतमा बनाइएको थियो ।