नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका राम गुरुङ चयन भएका छन् । अध्यक्ष गुरुङ कास्कीमा रहेर लामो समयदेखि फोटो पत्रकारिता गर्दै आइरहेका छन् । पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले गुरुङको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा बाग्लुङका मञ्जुल शाक्य, सचिवमा कास्कीकै कृष्णमणि बराल, कोषाध्यक्षमा कास्कीकै ओम लामा, सहसचिवमा तनहूँका मिलन दराईँ छन् । यस्तै सदस्यमा म्याग्दीका अमर बानियाँ र मनाङका नवीन लामिछाने छन् । रिक्त २ सदस्य भने समितिको पहिलो बैठकबाट मनोनित हुने बताइन्छ ।
यसअघि उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बढ्दो प्रविधिका कारण व्यावसायिक फोटो पत्रकारलाई चुनौती बढ्दै गएको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी, नेपाल फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, नेपाल प्रेस युनियका सचिव एवं महासंघ सल्लाहकार प्रदीप पौडेल, महासंघ कास्की सचिव दुर्गाप्रसाद पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, नेपाल मुद्रक उद्योग महासंघका केन्द्रीय सदस्य जीवन गोर्खाली, केन्द्रीय सदस्य गोविन्द रेग्मी, गण्डकी प्रदेश अध्यक्ष महेन्द्र बजीमय, प्रदेश सचिव बसन्त बास्तोला, कास्की जिल्ला अध्यक्ष पदम श्रेष्ठ लगायतले एक्स्पोले पत्रकार र व्यवसायीबीच सम्बन्ध नजिक बनाउने विश्वास व्यक्त गरे ।
यसैबीच नेपाल फोटो पत्रकार महासंघले चैत २८ देखि काठमाडौंमा ‘प्रिन्टिङ फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ आयोजना गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । ३ दिनसम्म काठमाडौं टुँडिखेलमा हुने एक्स्पोमा छिमेकी राष्ट्रको समेत सहभागिता रहनेछ । प्रदर्शनीमा दर्शक रोजाईमा परेका उत्कृष्ट १० फोटोलाई नगद पुरस्कार साथै विश्वचर्चित ब्राण्डका क्यामेरा तथा उपकरणबाट सम्मानित गरिने जनाइएको छ ।






