कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११ द्वारा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अध्ययन मूल कर्तव्य भएकाले सोही अनुसार अघि बढ्न आग्रह गरे ।
विद्यार्थीको सफलता विद्यालयका लागि सबैभन्दा खुशीको कुरा नै हुने उनले बताए । विद्यालयले नयाँ संस्कारको निर्माण गर्दै विद्यार्थी केन्द्रित गतिविधिमा जोड दिएको भन्दै प्राचार्य प्रभावीले समयानुकूल शैक्षणिक पद्धतिमा अघि बढ्ने प्रयासमा आफू लागिपरेको स्पष्ट पारे ।
कक्षा ११ की सुजता सीकेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका बिना तिमल्सेना, शिक्षक किशोर भुजेल, कक्षा ११ की रीया गुरुङ, १२ की विद्या सुवेदीलगायतले बोलेका थिए । कक्षा ११ की अस्मिता नेपालीको सञ्चालनमा भएको कार्यक्रममा रुपा थापा मगर, सजिना गुरुङ, नवराज गुरुङ, विवेक गुरुङ, सोनिया नेपालीलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
बिदाइ भएर जाने विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले मायाको चिनो प्रदान गरेका थिए भने विद्यालयका प्राचार्य प्रभावीले विद्यालयकोतर्फबाट खादा लगाइदिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले आगामी २०७६ वैशाख १५ बाट सञ्चालन गर्ने परीक्षामा शिवालयबाट यस वर्ष १२ जना विद्यार्थी सहभागी हुँदैछन् ।




