लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
उनको निवास पोखराको पस्र्याङ पुगेर एलआइसी नेपालको टिमले कम्पनीको नियम अनुसार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारलाई वीमाको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।
मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका कारण १२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको चेक उनकी धर्मपत्नी बिद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।
जीवन वीमा अभिकर्ता रघुनाथ भण्डारीमार्फत मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जीवन आनन्द नामको वीमा गरेको कम्पनीले जनाएको छ ।
जीवन वीमा धारकको असामाहिक निधन वा दुर्घटनाबाट मृत्यु भएकोले वीमाको कानुनी व्यबस्था अनुसार ५ लाखको वीमामा दुर्घटना ५ लाखकै हालसम्मको बोनस गरी उक्त रकम हस्तान्तरण गरिएको एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले जानकारी दिए ।
कम्पनीले भूकम्पको समयमा पनि वीमा गर्ने व्यक्तिका आफन्तलाई मृत्यु दाबी रकम छोटो समयमै उपलब्ध गराएको थियो भने मन्त्री अधिकारीको समयमा समेत मृत्यु दाबी रकम छिटो उपलब्ध गराएको कम्पनीको दाबी छ ।
साथै कार्यक्रममा मन्त्री अधिकारीको निधनको घटना प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको एजेन्सि म्यानेजर गोविन्द खड्काले बताए । मन्त्री अधिकारीको मंगलबार ७ दिनमा कीरियाकर्म सकिने भएकाले शुद्धाशद्ध हुने आफन्तले जनाएका छन् ।




