पोखरामा प्रदेशस्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ शुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ आईतबारदेखि शुरु भएको हो । फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आइतबार उद्घाटन गरे ।
महोत्सवमा १ सय ३० वटा स्टल रहेको सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले जानकारी दिए । । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल रहेको उनले बताए । मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद् आकारको शिवलिंगको प्रतिमा तयार पारिएको छ । शिवरात्रिका अवसरमा सोमबार शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको पनि तिमिल्सिनाले जानकारी दिए ।
यस पटक कम्प्युटर एशोसिएसन महासंघ (क्यान) कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेला समेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने तिमिल्सिनाको भनाई छ । ‘सूचनाप्रविधि मेलामा प्रविधबारे जान्न पाउनेछन, रेवान महोत्सवमा मनोरञ्जन लिन सक्नेछन,’ उनले भने । राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित खानाका विभिन्न परिकारको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिंडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने महासचिव जीवन दाहालले जानकारी दिए ।
विद्यालयस्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए । विद्यालयस्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । प्रतियोतिामा द्धित्तीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटकीय राजधानी बनाउन सकेमात्र स्व. रविन्द्र अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने स्व. अधिकारीको सपना भएको बताउँदै उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानी बनाउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकेर सञ्चालन गर्ने र आन्तरिक भ्रमण वर्ष सफल बनाउन सकेमात्र पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’
उनले पर्यटनबाटै विकास र समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, ‘आन्तरिक पर्यटन वर्ष सफल बनाऔं, त्यसो गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्रिन्छन्, त्यसले रोजगारी सृजना गर्छ, आम्दानी बढाउँछ र त्यसकै माध्यमबाट विकास र समृद्धि पनि आउँछ ।’
मन्त्री लम्सालले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि पोखरामा पर्यटकको संख्या ह्वात्तै बढ्ने बताए । उनले पोखरा बाहिर गण्डकी प्रदेशका अन्य ठाउँहरूमा पनि पर्यटनको गतिविधी बढाउनुपर्ने बताउँदै भने, ‘हिमालदेखि तराईसम्म, अनि ढोरपाटनदेखि मनकामनासम्मका सबे ठाउँमा पर्यटक पु¥याउनुपर्छ ।’ पर्यटन गतिविधि बढाउनका लागि प्रत्येक स्थानिय तहले आफ्नो ठाउँमा गुफा, धरहरा, मूर्ति, मन्दिर जे छ त्यसलाई आकर्षक बनाएर प्रचारप्रसार गर्नुपर्छ ।’ पर्यटक आउन उनीहरूलाई लोभ्याउनु पर्ने बताउँदै उनले थपे, ‘अब स्थानीय तहदेखि तीनै तहका सरकार मिलेर आहा ! बनाउनुपर्छ, संस्कृति, रीतिरिवाज, प्रकृति, पूर्वाधारलगायत सबै क्षेत्रमा आहा ! बनाउनुपर्छ, तबमात्र पर्यटक आउँछन् ।’
मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्ष सफल बनाउन सडक र हवाई मार्ग चुनौति बनेको टिप्पणी गरे । उनले भने, ‘२०७२ को भुकम्पले थिलथिलो बनाएको पर्यटनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको निधनले थप क्षति पु¥याएको छ, अधिकारीको निधनले नेपालको हवाई यात्रासमेत असुरक्षित भएको सन्देश विश्वमा गएको छ, यो ठूलो चुनौतिको रुपमा देखापरेको छ ।’ यद्वपि जस्तोसुकै चुनौति तोडेर पनि आन्तरिक भ्रमण वर्ष सफल बनाएरै छाड्छौं ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला महोत्सवलाई ट्रेड फेयरको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘मेला महोत्सव नाफा कमाउनका लागि होइन, अनि यहाँ स्टल राख्नेले नाफा हुन्छ भनेर राख्ने होइन, यहाँ त प्रवर्धन मात्रै गर्ने हो ।’ अध्यक्ष अधिकारीले पोखरा प्रदर्शनी केन्द्रलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन नहुने बताए ।
सुरक्षाका कारण पनि पोखरा प्रदर्शनी केन्द्रमा सम्मेलन केन्द्र बनाउन नहुने भन्दै उनले भने, ‘बजारको बिचमा भएकाले यो सुरक्षित मानिदैन, भिआइपी आउँदापनि यो ठाउँ उपयुक्त छैन, अनि क्षेत्रफलको हिसाबले पनि सानो भएकाले यो साँघुरो हुन्छ ।’ उनले पोखरा प्रदर्शनी केन्द्रलाई स्थायी खालको प्रदेशस्तरीय प्रदर्शनी केन्द्र बनाउनुपर्ने बताए ।





