पानी बाराबारको झगडा प्रशासनमा आईपुग्दा साम्य

- चरीचरन सहमति कार्यान्वयन गर्न दुबै गाउँ राजी

मुस्ताङका ५ स्थानीयतहमा करिव ९६ वटा गाउँ छन्। सबैका आ–आफ्नै चौपाया चरीचरन तथा प्राकृतिक श्रोत उपयोग गर्ने खर्क र जगंल छन् ।तर,यहाँका सबैजसो गाउहरुले आपसमा मिलेरनै श्रोतसाधनको उपयोग गरिहेका छन् ।


तर,मुस्ताङका यी गाउँ मध्ये जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङ र तेताङ गाउँबीच करिव सय वर्षअघि देखि हालसम्म त्यही बिवाद ज्यूका त्यू रह्यो,त्यो थियो सार्वजिक चौपाया चरीचरन तथा प्राकृतिक श्रोतसाधन उपयोग गर्नेको ।यही बिषयमा यि दुई गाउँबीच पुस्तौ देखि यो बिवाद सहमति हुने र बल्झने क्रम भयो ।जंगल ,खर्क र चरनक्षेत्र उपयोगको बिवाद यसअघि पटक पटक उल्झिए र विवाद जिल्ला सम्म आईप्ुग्यो ।


छुसाङ गाउँ र तेताङ गाउँबीच जंगल ,खर्क र चरीचरनका बिषयमा २ पटक सहमति भएको हो ।मुस्ताङे राजा जिग्मे परवल बिष्ट समेतको उपस्थितीमा ०४८ सालमा यी २ गाउँबीच यिनै बिषयमा बुदाँगत लिखित सहमति भयो ।त्यसको २० वर्षपछि २०६८ सालमा पूनःदोहो¥याएर यी २ गाउँबीच सहमति भए ।त्यस समय भएको सहमतिको मुख्य १ बुदाँ थियो चौपाया चरिचरन गर्न पाउने बिषय । दुबै पटक भएको सहमतिमा उल्लेख गरिएको बिषय हो हिउँदयामको मौसममा मात्र तेताङबासीले छुसाङ गाउँ संग जोडिएको चेप्टे चरनक्षेत्रमा आफ्ना चौपाया लैजान पाउने सहमति भएको उल्लेख छ ।


मुस्ताङ उच्च हिमालीक्षेत्र भएकाले यहाँ हिउँदयामको मौसममा भारी हिमपात हुने गर्छ ।तेताङ गाउँ छुसाङ गाउँ भन्दा भौगोलिक हिसाबले बिकट छ ।उनीहरुको खर्कमा हिमपातले गर्दा चौपाया चरनक्षेत्र असहज हुने गर्छ,यसलै यस्तो सहमति भएको तेताङबासीको भनाई छ ।गाउँमुखिया पासाङ छिरिङले अप्ठ्यारो पर्दा समस्याको गाठो फुकाउन समस्या सुल्झ्याउनु पर्ने बताए ।उनले तेताङबासीको खर्कमा हिमपात भएकाले चेप्टे चरनक्षेत्र आएको जनाए ।उनले लालपूर्जा नभएका जमीन सरकारी स्वामित्वमा रहने भएपनि सम्पदाको उपयोग गर्न पाउनु सबैको समान अधिकार रहेको सुझाए ।यता,छुसाङ गाउँका अगुवा रामबहादुर गुरुङले दुबै गाउँका समस्याहरुलाई एकअर्काबीच निषेध गर्न नहुने बताए ।उनले,तेताङ गाउँबासीले छुसाङ बस्ती नजिकै चौपाया ल्याएकाले समस्या उब्जिएको उल्लेख गरे ।यी दुबै गाउँबीच अर्को थुम्ची फाँटको चरनक्षेत्रको बिवाद पनि छ ।


यी २ गाउँबीच पानी बराबारको बिवाद आईतबार जिल्ला मुकाम जोमसोम आयो ।दुबै गाउँका दर्जनौ स्थानीय बिवाद सुल्झाउन जिल्ला प्रशासन कार्यालय ओईरहे । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री,प्रहरी नायब उपरिक्षक महेन्द्र खड्का,शसत्र प्रहरी नायब उपरिक्षक निर्मल कार्की ,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका प्रमुख तुलसी दाहाल,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी लगायतको रोहबरमा २ गाउँका प्रतिनिधिबीच बिगतमा गरिएका सहमति अक्षरस पालना गर्ने सहमति भयो ।

सहमतिमा तेताङ गाउँले हिउँदयाम बाहेक अन्य समयमा छुसाङक्षेत्रको चेप्टे चरनक्षेत्रमा चौपाया चराउन नआउने प्रतिबद्धता जनायो भने छुसाङ गाउँले हिउँदयाममा तेताङको चरनक्षेत्र पीडाँको मर्म बुझ्ने र अन्य समयमा चौपाया ल्याउन नपाउनेगरी सहमति भएको छ ।सहमति कार्यान्वयनका लागि छुसाङका अगुवा रामकुमार गुरुङ र तेताङका तर्फबाट मुखिया पासाङ धर्पु गुरुङले हात मिलाएर सहमति गरे।


प्रशासनमा २ घण्टा चलेको बार्तामा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सार्वजनिक सम्पदा कसैको बिर्ता नभएकाले मिलेर उपयोग गर्न आग्रह गरे ।उनले मुलुकमा संघीयता लागु भईसकेकाले कसैले पनि एकाधिकार गर्न नमिल्ने सुझाए ।प्रहरी प्रमुख महेन्द्र खड्काले २ गाउँबीचको विवाद सामान्य भएकाले मिलेर अघि बढ्न सुझाए ।

एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले विवादित बिषय एक्यापको संरक्षण भित्र पर्ने भएकाले बिवादको चुरो बनाउन नहुने बताए ।उनले आपस थप बिवाद भए दुबै गाउलेले उपयोग गर्ने सुविधा कटौती हुनसक्ने भएकाले बिवादको बिषय बनाउन नहुने उल्लेख गरे ।

वारागुङका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले एउटै वडाका नागरिकबीच कटुता साच्न नहुने बताए ।उनले बिवाद सामान्य भएकाले ईमान्दारीता कायम रहनु पर्ने जनाए ।मुस्ताङेमा धार्मिक,सांस्कृतिक र सामाजिक सम्वन्धले परिचित भएको उल्लेख गर्दै यसप्रकारका द्धन्द मुस्ताङकै प्रतिष्ठामा आँच आउने सुझाए ।