यसवर्षको एसईई परीक्षा सर्ने !

यसअघि तय भएको परीक्षा तालिका

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका ७ प्रदेशसहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ ।

परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधिभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेललाई पत्र पठाएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी दिए ।

यसवर्षको एसईई परीक्षा आगामी चैत्र १० गतेबाट हुने तयारी भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी चैत्र १० गतेदेखि २१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा हुनेछ। एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान छ । परीक्षाका लागि विद्यार्थीले भरेको फाराम संकलनकै क्रममा रहेकाले केहि दिनमा मात्रै संख्या एकिन हुने बोर्डले जनाएको छ।

प्रदेश तहमा परीक्षा संचालन गर्ने भनिए पनि तयारीकै क्रममा रहेकाले यसवर्ष पनि बोर्डबाटै परीक्षा सञ्चालन हुन लागेको हो। बोर्डले ७ वटै प्रदेशमा परीक्षा व्यवस्थापन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ। \

यसवर्ष हुने परीक्षाको व्यवस्थापन र उत्तरपुस्तिका परिक्षणको काम प्रदेश कार्यालयबाट हुने परीक्षा नियन्त्रक रामशरण सापकोटाले जनाकारी दिए। प्रश्न पत्र र नतिजा प्रकाशनको काम भने बोर्डले नै गर्नेछ।