प्राडा सूर्यमणि अधिकारीका योगदानलाई चीरस्थायी उनका सन्तान, आफन्त र शुभेच्छुकले प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान गठन गरेका छन् । तत्कालीन पोखरा नगरपालिकामा पनि सेवा गरेका अधिकारी पछिल्लो समय चितवनमा बसोबास गर्थे । इतिहासविद्, साहित्यकार र समाजसेवीका रुपमा परिचित अधिकारीका २ दर्जन कृति र १ सयभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् ।
शनिबार पोखरामा आयोजित प्रतिष्ठानको घोषणासभामा प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले प्राडा सूर्यमणिको योगदान र समाजसेवामा योगदान गर्न प्रतिष्ठान गठन गरिएको बताइन् । उनले प्रतिष्ठानले इतिहास , भाषा, साहित्य, धर्म, संस्कृति, सामाजिक सेवा, परोपकार तथा लोककल्याणकारी कार्य गर्ने उल्लेख गरिन् । इन्दिरा सूर्यमणिकी छोरी हुन् । सूर्यमणिका छोरा मदनले बुबाको योगदान र समाजसेवाका लागि आफूहरु आवश्यक परेको साथ दिन तयार रहेको बताए । सूर्यमणिका ३ छोरामध्ये सबै अमेरिका बसोबास गर्छन् ।
प्राडा दिलबहादुर क्षेत्रीले सूर्यमणिको खस आर्यबारेको पुस्तकले आफूहरुलाई पहिचानको आन्दोलन गर्न बल दिएको बताए । उनले इतिहास रच्नुहरुले आफ्नै जीवनकालमा इतिहास आफैंले लेख्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका सदस्य वेदनिधि शर्माले प्रतिष्ठान बन्दा सूर्यमणिको पुनर्जन्म भएको बताए । प्रतिष्ठानका सल्लाहकार नारायण अधिकारीले प्रतिष्ठानको स्वरुप राष्ट्रिय र कीर्ति अन्तर्राष्ट्रिय बन्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाले प्राडा सूर्यमणिले इतिहास, समाजसेवा, संस्कृति र समग्र नेपाली जनजीवनकै उत्थानका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । उनले प्रतिष्ठानको कार्यक्षेत्र फराकिलो र गरिमामय बनाएर सूर्यमणिका योगदान उजागर गर्न र नेपाली समाजमा योगदान दिन समितिलाई आग्रह गरे ।
प्रतिष्ठानका कोषाध्यक्ष डा बाबुराम अधिकारीले सूर्यमणिका कृतिहरु पुन प्रकाशन, पाण्डुलिपिहरु प्रकाशन, साहित्य, इतिहास र जनजीवनका विविध पक्षमा योगदान गर्नेहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम गरिने बताए । डा. ईश्वरीराज लौडारीले सूर्यमणिले ज्ञानलाई व्यवहारिक पक्षसँग जोडेको विचार राखे । कार्यक्रममा प्रतिष्ठानका सचिव महेशराज अधिकारीले पनि बोलेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको संस्थाको उपाध्यक्षमा प्राडा देवीप्रसाद कँडेल, सचिव महेशप्रसाद अधिकारी र कोषाध्यक्ष डा बाबुराम अधिकारी छन् । सदस्यमा प्राडा दिलबहादुर क्षेत्री, डा ईश्वरीलाल लौडारी, रमेश पौडेल, शंकर खराल, वेदनिधि अर्याल, सुरेश रानाभाट र डा उत्सव अधिकारी छन् ।




