बस्नेतले पाए खुला म्याराथनको उपाधि

चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन्।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन्।

कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे। दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए। आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौँ, सविन तामाङ छैटौँ र भीम गुरुङले सातौँ भए। उपाधिसँगै कृष्णले रु एक लाख २५ हजारसहित मोटरसाइकल प्राप्त गरे। दोस्रो भएका राजनले रु ६५ हजार र तेस्रो भएका नवराजले रु ३५ हजार प्राप्त गरे। हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए। उनले निर्धारित दूरी एक घण्टा छ मिनेट ३१ सेकेण्डमा पूरा गरे। दोस्रो भएका गजेन्द्र राईले एक घण्टा छ मिनेट ३८ सेकेण्ड र तेस्रो भएका टीकाराज कटवालले एक घण्टा सात मिनेट २३ सेकेण्डमा दूरी पार गरे।

महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भइन्। उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट २० सेकेण्डमा पार गरिन्। दोस्रो भएकी सशस्त्र प्रहरी बलकी बिन्दा देसारले निर्धारित दूरी एक घण्टा २६ मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो र तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घण्टा २१ मिनेट ३२ सेकेण्डमा पार गरिन्।

दुवै स्पर्धाका विजेताले रु. ५० हजार, दोस्रो हुनेले रु. ३५ हजार र तेस्रो हुनेले रु. २५ हजार प्राप्त गरेका थिए। पैतालीस वर्षमाथिको खेलमा धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो स्थान हात पारे। विजेताले रु. ४० हजार, दोस्रोले रु. २५ हजार र तेस्रोले रु. १५ हजार हात पारे। विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरेका थिए। म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई च्याम्पियन बनेका थिए। दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्णा बस्नेत च्याम्पियन बनेका थिए। योसँगै बस्नेत दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्।

सोही अवसरमा सेनाले आर्मीका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो। सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भण्डारी, पारा एथलेटिक्सका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ छन्। उनीहरुलाई जनही रु. २५ हजार ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । जङ्गी अड्डाबाट शुरु भएको दौड त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने हुँदै भक्तपुर सूर्यविनका पुगेर पुनः जङ्गी अड्डमै आएर सम्पन्न भएको थियो।