बेनी÷जोमसोम सडकखण्ड खुल्यो

मुस्ताङ,१७,फागुन ।
आठौ पटक लगातार परेको हिमपातले अवरुद्ध बेनी÷जोमसोम सडकखण्ड शुक्रबार साँझदेखि खुलेको छ ।जिल्ला ट्राफिक कार्यालय तथा थासाङ गाउँपालिकाको कोवाङ र लेते प्रहरी चौकीको सक्रियतामा बेनी÷जोमसोम ट्र्याक खुल्ला गरिएको जिल्ला ट्राफिक कार्यालयका असई बिष्णुपल्ली मगरले जानकारी दिए ।


मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाको छाक्ताङमा बिहिबार हिमपहिरो जादाँ सवारी आवागमन बन्द भएको असई मगरले जानकारी दिए ।उनका अनुसार छाक्ताङ खोला माथिको ठुलो हिउँको ढिस्को खस्दा करिव १ सय ५० मिटर सडक अवरुद्ध भएको हो ।शुक्रबार बिहानै देखि कालिगण्डकी करिडोर अन्तर्गत बेनी÷जोमसोम सडकको लेतेखोलामा प्रयोेग भएको शर्मा गजुरमुखीको स्काईभेटर र डोजर परिचालन गरेर साँझ ५ बजे सवारी आवागमन सुचारु गरिएको असई मगरले बताए ।


छाक्ताङको हिमपहिरो पन्छ््याईपछि जोमसोमबाट बेनी एक दर्जन जीप,बस र ट्रक गन्तब्यमा पुग्न सहज भएको छ भने,बेनीबाट जोमसोमतर्फ ९ वटा बस,जीप र ट्रक भित्रिएको अर्का ट्राफिक प्रहरी खिम अर्यालले जानकारी दिए । थासाङ गाउपालिका वडा नम्बर १ र २ को पुरानो बाटोमा सडक बिस्तार तथा स्तरोन्नतिको काम भईरहेको छ ।करिडोरले यहाँ सडक डाईभर्सन गर्दै काम गरिरहेको छ ।

सिजनको पछिल्लो हिमपातले टुकुचे देखि छाक्ताङ सम्मको करिव १५ किलोमिटर बगरे सडक पुरै सेताम्मे हिउँका कारण बाटो पहिल्याउन मुश्किल पर्ने असई बिष्णुपल्ली मगरले जानकारी दिए ।स्थानीय चालक बाहेक जिल्ला बाहिरबाट आउने सवारीलाई हिउँले भरिएको बगरे सडकमा ट्र्याक पहिल्याउन गाहे हुने भएकाले केही दिनका लागि साँझ ६ बजेदेखि सवारी आउजाउ गर्न निषेध गरेको उनको भनाई छ ।बगरे हिउँ नपग्लिए सम्म टुकुचे देखि छाक्ताङ सम्म साँझ सवारी जान नपाईने र जोखिम मोलेर यात्रा नगराउन अनुरोध गरेको उनले बताए ।


यस्तै,लगातारको हिमपातले एकसाता देखि कागबेनी÷मुक्तिनाथ सडक अवरुद्ध भईरहेको छ ।भारी हिमपातले कालोपत्रे सडक हिउँले ढाकिएकाले सवारी आवागमन बन्द भएको हो ।मुस्ताङमा हिमपातले भएपछि मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक तिर्थालुलाई शास्ती भईरहेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।

हिमपात र मौसम प्रतिकुलका कारण मुस्ताङको हवाई सेवा ५ दिन उडान हुन सकेको छैन ।यस्तै,हिउँदयामको चिसो छल्न बेशी झरेका उपल्लो मुस्ताङी जिल्ला फर्कने क्रममा हिमपात हुदाँ गाउँ फर्कन मुश्किल परेको प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।उनले मौसम हेरेर सडकको हिउँ पन्छ््याउन पहल गर्ने जनाए ।

हिमपातले मुस्ताङको शैक्षिक संस्था समेत प्रभावित भएका छन् ।खराब मौसम र हिमपातका कारण बिद्यार्थी स्कुल जान समेत कठिनाई भएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मति चपाईले बताए ।उनले हिमपात भएकाले उच्च सर्तकता अपनाउन समेत बिद्यालयलाई अनुरोध गरेको जानकारी दिए ।