ओखलढुङ्गा प्रदेश नं १ प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि झापाले जितेको छ ।
ओखलढुङ्गामा आज सम्पन्न प्रदेशस्तरीय पुरुष भलिबलको छनोट प्रतियोगितामा भोजपुरलाई ३०–२८, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै झापाले उपाधि जितेको हो । त्यस्तै सङ्खुवासभालाई हराउँदै सुनसरीले तेस्रो स्थान हासिल गरेको छ । सुनसरीले सङ्खुवासभालाई २५–२१, २५–२३, २१–२५ र २५–२० को सेटमा हराएको छ ।
प्रदेशस्तरीय खेलबाट छनोट भएका खेलाडी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गाबाट सञ्जय बुढाथोकी, डोरबहादुर बस्नेत र समितबहादुर बस्नेत, झापाबाट नवीन रिजाल, दिपेन मल्ली, राजन लिम्बू, सरोज चौलागाईं र रोहित शिवाकोटी छनोट भएका छन् ।
त्यस्तै सुनसरीबाट वसन्त राई, दिवस लिम्बू, मोरङबाट रवीन गौतम, उदयपुरबाट कृष्ण थापा, भोजपुरबाट मनिस गौतम, सोलुखुम्बुबाट सञ्जय बस्नेत, सङ्खुवासभाबाट प्रदीप कटेल र सुरेन्द्र गिरी राष्ट्रिय खेलका लागि छनोट हुनुभएको छ । यही फागुन १३ गतेदेखि शुरु सो प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाले सहभागिता जनाएका थिए ।




