श्रीमती विद्या अधिकारी (भट्टराई) को डाको, बुबा इन्द्र र आमा लक्ष्मीको आर्तनाद, छोरा विराज र स्वराजको विलाप र आफन्तहरुको आँशुले प्रदर्शन केन्द्र शोकको कोलाहल मच्चियो । स्व. मन्त्री अधिकारीको श्रीमती विद्यालाई नेकपाकी नेतृ रामकुमारी झाँक्रीले सकससहित सम्हालिन् ।
कास्की घर आउँदा बाहिरैदेखि हँसिलो मुहारमा घर आउने बुबा यस्तो आवस्थामा देख्दा छोराहरु विराज र स्वराजको विलापले वरपरका सबैको मन कटक्क खान्थ्यो । पार्टीका नेता र आफन्तजनले आँखामा आँशु लुकाएर मन्त्री अधिकारीका छोराहरुलाई सम्हालिरहेको दृष्यले सबैको आँखामा आँशु रसाउँथ्यो ।
स्व. मन्त्री अधिकारीलाई विदाइ गर्न नेता, कार्यकर्ता, शुभेच्छुकहरु प्रदर्शन केन्द्रमा आएका छन् । अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका छन् । त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए ।
श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा आएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् । श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिने छ ।







