सुयोग्य नेताको निधन : कास्की कांग्रेस

नेपाली कांग्रेस कास्कीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । बिहीबार प्रकाशित शोक विज्ञप्तिमा दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ ।

बिहीबार कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ । विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ ।

सोही दुर्घटनामा यति एयरका प्रबन्ध निर्देशक आङ्छिरिङग शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव्र भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएकोमा दुख व्यक्त गरिएको छ । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी र नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पनि शोक विज्ञप्तिमार्फत मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।