पछिल्लो पटक परेको चालु सिजनको अन्तिम हिमपातले मुस्ताङमा सडक अवरुद्ध बनेको छ ।थासाङ गाउँपालिकाको डाईभर्सन सडकमा हिउँनै हिउँ थुप्रिएकाले जोमसोम जाने दर्जनौ सवारी बीच बाटोमै रोकिएको बताईएको छ ।
जिल्ला ट्राफिक कार्यालय जोमसोमले दिएको जानकारी अनुसार पछिल्लो पटकको परेको हिमपातले पर्यटकीय गाउ मार्फा देखि थासाङ गाउपालिका अन्तर्गतका टुकुचे,कोवाङ लेते र घाँसा सम्म २ फिट बढी हिउँ जमेकाले सडक अवरुद्ध भएको हो ।
मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ जाने जोमसोम,कागबेनी ,मुक्तिनाथ सडक खण्ड पूर्ण रुपमा प्रभावित भएको हो ।हिमपातले सडक अवरुद्ध भएपछि लामो दुरी तथा छोटो दुरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।सडक अवरुद्ध हुदाँ मुस्ताङ आउने र फर्कने पर्यटक अलपत्र अवस्थामा छन् ।
पटक पटक परेको हिमपात माथि पछिल्लो पटक परेको भारी हिमपातले मुक्तिनाथ सडक अवरुद्ध भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तत्कालको हिमपात सडकमा सवारी आवागमनमा रोक लगाएको पल्ली मगरले जनाए । सडकमा भारी हिमपात भएकाले ट्र्याक पहिल्याउन मुश्किल हुने र यसरी यात्रा गर्दा जोखिम सृजना हुने भएकाले संम्भावित घटना रोक्न सवारी साधनलाई चल्न रोकिएकोे उनले जानकारी दिए ।मौसम सुधार हुने बिक्तिकै हिउ सफा गरी सडक सुचारु गर्न पहल गरिने उनको भनाई छ ।
यसअघि हिमपातकै कारण कागबेनी मुक्तिनाथ सडकखण्ड २ साता सम्म अवरुद्ध भएको थियो ।गर्मीयाम सुरुवता भएपनि उपल्लो मुस्ताङमा हिमपात हुने क्रम नरोकिएपछि त्यहा कुनै पनि सवारी साधान चल्न सक्ने अवस्था नरहेको सीमा प्रहरी चौकी लोमान्थाङमा कार्यरत असई नरेन्द्रकुमार पौडेलले जानकारी दिए ।उनले पटक पटक सडकको हिउँ पन्छ््याउदा पनि हिमपात हुने क्रम नरोकिदाँ सडक खुलाउन समस्या भएको बताए ।
हिमपातले २ साताअघि खुलेका मुस्ताङमा संञ्चालित बिद्यालय पूर्ण रुपमा प्रभावित भएका छन् ।यस्तै,जोमसोम बिमानस्थलमा २ फिट हिउँ थुप्रिएकाले हवाई उडान समेत बन्द भएको जनाईएको छ ।हिउँ सफा भएपछि उडान सुरु हुने कार्यालय प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए ।





