टुँडिखेलको श्रद्धान्जली सभा भोलि हुने

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई टुंडिखेलमा श्रद्धान्जली दिने कार्यक्रम भोली शुक्रबार बिहानसम्मका लागि स्थगित भएको छ ।

हाल परीक्षणका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकोमा शव परिक्षण गर्न समय लाग्ने भएपछि टुँडिखेलको आजको श्रद्धान्जली सभा स्थगित भएको हो ।

शव पहिचान गर्न सक्ने अवस्थामा नरहेकोले डीएनए परिक्षण गर्नु पर्ने भएकाले समय लाग्ने भएको हो । टुँडिखेलमा शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धान्जलीका लागि राखिने भएको छ ।

पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुंग दुर्घटनामा दिवंगत मन्त्रीसहितका व्यक्तित्वप्रति श्रद्धान्जली कार्यक्रम भोली बिहान ८-११ बजेसम्म हुने प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

पोस्टमर्टमका लागि शिक्षण अस्पतालले डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोलीलाई खटाएको छ । टोलीले एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्ने बताइएको छ ।  

एउटा शवलाई एक घण्टा लाग्ने हुँदा सातै वटा शव पोस्टमर्टम गर्दा कम्तीमा पनि सात घण्टासमय लाग्ने बताइएको छ । 

पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लागेको हो । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।