मृतकलाई श्रद्धान्जली दिन राष्ट्रपति टुँडिखेलमा आउने

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धान्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् । 

अहिले मन्त्री अधिकारीसहित सातै जनाको शव शिक्षण अस्पताल महाराजगंजमा पुर्याइएको छ । शवको पोष्टमार्टम पछि ३ बजे टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिने छ । 

आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । 

मन्त्री अधिकारीको शव पहिचान भएकाले पोष्टमार्टम पछि टुँडिखेल पठाइने छ भने अन्य पहिचान नभएका शवको डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्न सक्ने बताइएको छ । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।