गण्डकीका राजमार्गमा डाक्टरसहितका घुम्ती अस्पताल

गण्डकी प्रदेशले आफ्नो प्रदेश अन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न ३ जिल्लाका ३ अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।

घुम्ती अस्पताल सञ्चालन गर्ने स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत छन् । हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालू वर्षमा हरेक अस्पताललाई ५० लाखका दरले १ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माका अनुसार अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्ने छन् । सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा १ जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछन् । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए ।

विश्व स्वास्थ्य संगठनको १ प्रतिवेदन अनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधा बढीको घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । ‘गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ३ जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो’, सूचना अधिकृत शर्माले भने ।

यस प्रदेशमा वर्षेनी कति जना सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसित छैन । सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।

विसं २०१६ मा स्थापना भएको सो अस्पताल ५० शड्ढयाकोे छ । सामाजिक विकास मन्त्रालयको ७० लाख अनुदानमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको सूचना अधिकृत शर्माले बताए ।