संघीय सांसदमा गण्डकी मेडिकल कलेज (जिएमसी)को मुद्दा उठेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले गण्डकी मेडिकल कलेज खारेज गर्न माग गरेका छन्। उनले तोकिएभन्दा बढी शुल्क लिएको भन्दैले सो कलेज खारेज गर्न माग गरेका हुन्।
उनले भने, ‘४२ लाख मात्र लिनुपर्ने ठाँउमा सो कलेजले ५२ लाखमात्र लिएका छन्, यस्ता कलेजलाई सरकारले अनुगमन गरी खारेज गर्न सक्नुपर्छ ।’ कलेजले बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थी आन्दोलनमा छन्।
माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले मेडिकल कलेज परिसरमा रिले अनसनसमेत गरेका थिए।
विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थीको आरोप छ ।




