सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएको छ ।
बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार विवाह दर्ता गरे ।
पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।
दुई वर्ष अघि देखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी हुन्। नेपालको ग्रामीण बासिन्दा झैँ बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गर्नुभएको थियोे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए ।
केटीका तर्फबाट भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर आएकी थिइन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताइन् ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार यो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”
कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेको औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए। पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।




