बलात्कार तथा यौन र्दुव्यवहार आफैमा पनि घृणित काम हो तर पनि यसले पछिल्लो समय बिकराल रुप लिन्छ की भन्ने चिन्ता देखिएको छ ।
यसैबीच म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी वृद्धा शुक्रबार राती १० बजेको समयमा आफ्नै घरमा बलात्कृत भएकी हुन् । राम्रोसँग बोल्न र हिँड्न नसक्ने अवस्थामा रहेकी उनलाई बलात्कार गर्ने स्थानीय ३५ वर्षीय गोरे परियारलाई प्रहरीले प्रक्राउ गरेको छ ।
राती घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । म्याद थपेर आरोपित परियारमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।






