नेपाली कांग्रेस र नयाँ शक्तिबीच पार्टी एकता !

रसुवा जिल्लामा नेपाली र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ ।

सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता हुन लागेको रसुवा जिल्ला काँग्रेस जिल्ला सदस्य उत्तम थापाले बताए । उनका अनुसार कार्यक्रम दिउँसो १२ः३० वजे सुरु हुनेछ । कार्यक्रमका लागि काठमाडौंबाट काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरु आउने छन् ।

नयाँ शक्तिबाट ५ हजारभन्दा बढी नेता तथा कार्यकर्तासंग काँग्रेसको एकता हुनेछ । रसुवामा नयाँशक्तिबाट प्रदेश सांसद प्रेमबहादुर तामाङ पनि हुनेछन् । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टी एकता हुने जिल्ला सदस्य थापाले बताए । रसुवाबाट एउटा गाउँपालिकामा नयाँ शक्तिले क्लिनस्वीप नै गरेको छ ।

यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइन्छ । नयाँ शक्तिका केन्द्रीय संयोजक डा बाबुराम भट्टराई भने नयाँ सोचका साथ देश दौडाहामा छन् । देश दौडाहामा रहेका डा. बाबुराम भट्टराई रसुवामा भने गएनन् । सांसद तामाङ लगायतले आफूहरु नयाँ शक्तिमा नरहने सन्देश पठाएका कारण डा. भट्टराई र नयाँ शक्तिको टीम रसुवा नपुगेको बताइन्छ।